क्रान्तिले छरेको भ्रान्ति

संकेत कोइराला

क्रान्तिले छरेको भ्रान्ति

गौतम बुद्ध कतै गइरहेका बेला एउटा मानिसले हठात् सोध्यो– ‘ईश्वर छ ?’ बुद्धले निमेषभरमै उत्तर दिए– ‘छैन् ।’ दिउँसो अर्को मानिसले सोध्यो– ‘जहाँसम्म मलाई लाग्छ ईश्वर छैन । यसमा तपाईंको के विचार छ ?’ बुद्धको उत्तर थियो– ‘छ ।’ त्यही साँझ अर्को मानिसको जिज्ञासा राख्योे– ‘ईश्वर छन् या छैनन, म त अलमलमा छु । तपाइँले निक्र्योल गरिदिनु प-यो ।’ उसंग तथागतले भने– ‘चुप रह्यौ भने असल हुनेछ– न छ, न छैन् ।’ 
बुद्धका तीनथरि भनाइ सुनेपछि संगसंगै हिँडेका भिक्षु आनन्द अघोर आश्चर्यमा परे । रात्रिकालीन सत्संगमा उनले भने– ‘म त पागल भइसकें प्रभु । ईश्वरको सम्बन्धमा विहान तपाईंले भन्नुभयो– छैन... दिउँसो भन्नु भो– छ...., फेरि साँझ भनिदिनु भो– न छ न छैन । ... म के सम्झूँ प्रभु ?’

सुमधुर वाणीमा बुद्धले जवाफ दिए– ‘विहान मलाई प्रश्न सोध्ने मानिस आस्तिक थियो । उ चाहन्थ्यो– म उसको हो मा हो मिलाइदिन्छु । उ फगतः आफ्नो सुक्ष्म अहंकारलाई तृप्त गर्न आएको थियो कि बुद्ध पनि त्यही मान्दछन् , जुन म मान्दछु । त्यसैले मैले उसलाई भनिदिएँ– छैन् । जसलाई सत्य थाहा छ, उसले अरुको स्वीकृति खोज्दैन । दिउँसो जो मानिस आएको थियो– त्यो नास्तिक थियो । ईश्वर छैन भन्ने उसको ठम्याई थियो । उसलाई मैले भन्नु प-यो– छ । उसको पनि खोज रोकिएको थियो । उ पनि म बाट नास्तिकताको स्वीकृति लिन आएको थियो । साँझ आएको मानिस न आस्तिक थियो, न नास्तिक नै । उसलाई यी दुवैको बन्धनमा बाँध्नु उचित थिएन । न छ बाधक, न छैन बाधक । त्यसैले मैले भने– चुप रहु न छ न छैन् ।’ बुद्धको भनाइ सुनेर आनन्द चुप भए । 

अहिले भगवान बुद्ध प्रकट भएर व्याख्या गरिदिने भए सम्भवतः हाम्रो लोकतन्त्रको परिभाषा पनि यस्तै मौसमी हुन्थ्यो होला । केपी ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा यस्तै बेतुकको प्रश्न तेस्र्याउँथे होलान् । सडकले ललकारेर ल्याएको लोकतन्त्र सडकमै द्रौपतीको चिरहरण भएजस्तै विसर्जन हुने अवस्था आउनु भनेको यस्तै स्वीकृति खोज्न शक्तिकेन्द्र धाउनुको परिणति हो । केपी ओलीका लागि अहिलेको लोकतन्त्र जताततै तोरी फुलेजस्तै फुलेको छ । संसारको कुनै शक्तिले गर्न नसकेको काम आफू नेतृत्वको सरकारले गर्न सक्छ भन्ने दम्भ छ । त्यतिमात्र हैन, आफूले बोलेका वाक्य ब्रम्हवाक्य हो भन्ने भ्रान्तिले विवेकको भाँडोमा विर्को लगाइदिएको छ । यो दोष ओलीको हैन सत्ता र शक्तिको हो ।

शेरबहादुर देउवाको नजरमा अहिले लोकतन्त्र फुल्ने बगैंचामा जताततै सिउँडीको बाहुल्य छ । आफू सत्तामा हुँदा देखेको समतल बाटो अहिले पावरदार चस्माबाट हेर्दा पनि तारेभीर देखिन्छ । काँग्रेसजनभित्रको शायद यही मनोदशा बुझेर बीपी कोइरालाले उतिबेलै दोषीचश्मा कृति लेखेका रहेछन् । प्रचण्डका लागि मौजुदा गणतन्त्र जग्गा दलालले लिने फाइदाजस्तै भएको छ । दलालले किन्ने र बेच्ने दुवैबाट भ्याएजस्तै राजनीतिक चित र पोट दुवैमा दाउ लाउन माओवादी सफल छ । गणतन्त्र नामको डबलीमा उसले हिङदेखि हर्दीसम्मको व्यापार भ्याएको छ । 

सपनामा नचिताएको प्राप्तिले दुईचार जनाको तिर्खा मेटिएपनि आम जनताका लागि गणतन्त्र शिरमाथि झुण्डिएको तरबारजस्तै भएको छ ।  लोकतन्त्रलाई २,४ जनाको बग्गी बनाइँदा त्यो ओली,  दाहाल र देउवा टावरमा सीमित भयो । बरु निरंकुश भनिएका शासकहरुले कमसेकम उनीहरुको प्यारीको नाममै किन नहोस् पुतलीसडक बनाए । काकाकुल काठमाडौं भित्र रानी पोखरी खनिदिए । देशको प्राज्ञिक थलो त्रिभुवन विश्वविद्यालय उनीहरुकै नाममा बन्यो । संसारलाई जोड्ने विमानस्थलदेखि गरिबका सन्तानले कम्तिमा खुट्टा राख्ने हिम्मत गर्ने वीर अस्पताल तिनैले बनाए । भनेको पैसा पाए छत पनि बेच्न पाए हुन्थ्यो भन्ने हुटहुटी बढ्न लागेको काठमाडौको मनोविज्ञानभित्र सरापेरै भएपनि रत्नपार्क नै सुस्ताउने अखडा बनिरहेको छ । गणतन्त्रको पीडाले डामिएका जनतामा अब राणा, राजा र पञ्चेलाई सराप्ने सामथ्र्य थोरै पनि बाँकी छैन् । धरहराभन्दा अग्लो स्मारक नबनेपछि ढलेकै भएपनि त्यसकै स्मरणमा रमाउनु दैनिकी बनेको छ ।

जुन प्रवृत्ति विरुद्ध आन्दोलन गरिन्छ, आन्दोलन सफल भएको भोलिपल्ट उसैसंग सहभोज शुरु हुन्छ । हो, बेथितिको बीउ यहींबाट रोपिन्छ । संसारका कुनै पनि सफल क्रान्तिपछि क्रान्ति विरोधीलाई चुलो चौकामा बसालिन्न । बरु तिनीहरुलाई सजाय दिइन्छ । समयले उनीहरुको मनमस्तिष्क धोएपछि परिवर्तित राजनीतिको भावधारामा बग्ने अवसर पाउनु अलग विषय हो । लोकतन्त्र समर्थक भनेकाहरुले जिन्दगीभर सूर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द, कमल थापाहरुलाई शत्रु देखे । यिनीहरुको पतन भएका दिन आफ्नो उत्थान हुने सपना पाले । आखिर परिवर्तन पनि भयो । तर दुर्भाग्य परिवर्तनको आधा दशक नवित्दै तिनै व्यक्तिहरु देशको कार्यकारी हुन पुगे । लोकतन्त्र लाहुरेको भर्ती होइन भन्ने चेत कसैमा आएन । प्रचण्ड र कमल थापाको चुलौचोको एउटै हुनु रहेछ भने क्रान्तिको जामा लगाएर त्यत्रा मानिसमाथि तरबार किन चलाउनुपथ्र्यो ? सम्भवतः यो प्रश्नको उत्तर स्यालको सिङ पाउनुभन्दा कठिन छ । विरालो जुन रङको भएपनि उसको सामथ्र्य मुसा मार्नुमा भएजस्तै जुनसुकै दलका नेता भएपनि राजनीतिक धन्दा फस्टाएको आधारमा उनीहरुको वजन निर्धारण हुने गर्छ ।  

जनउत्तरदायी सरकारको मातहत रहेको सेनाको बिजुली गारत दरबारलाई बुझाउनु हुँदैन, त्यसले तपाईंहरुलाई नै सिध्याउँछ भन्ने मोहनशम्शेरको अर्ती बीपीले नमान्दा आखिर त्यही सानो गाँठो मुलुककै प्राणमा जिन्दगीभर घाँडो सावित भयो । लोकतन्त्र विश्वास, सुरक्षा र अनुशासनको त्रिवेणी हो भन्ने मान्यता एकछिन पनि मुलुकमा स्थापित हुन सकेन् । एकथरिले खाएको देखेर अर्को थरिलाई भाउन्न भएर सडकमा निस्किएर उपद्रो मच्चाउने अनि त्यसलाई शान्त पार्न भएको सम्झौतालाई क्रान्ति भनिदा त्यो क्रान्तिले कसैलाई धोका दिनबाट बाँकी राखेन् । मुलुकका हरेक क्रान्ति पाँचसय परिवारभन्दा माथिकाले उपयोग गर्न पाएनन् । लोकतन्त्रमा तिनै टाठाबाठा रमाए । कुखुराको भाले जसरी गरिबका छोरा लडाएर, भिडाएर तमासा हेर्ने काममा तिनीहरु नै अगाडि देखिए । 

लोकतन्त्रको पहिलो सर्त भनेको समभाव हो । पोसाक एउटै लाएर समानता आउँदैन् । यसो हुँदो हो त फौजीमा जुनियर डग र सिनियर गडको मान्यता स्थापित हुने थिएन् । सिंहदरबारमा सरकारी कर्मचारीले पनि समान पोसाक त लाउन थालेका छन् । तर हेराइ झन्झन् भिरालो पर्दै गएको छ । दृश्यमा कर्मचारी देखिएपनि तिनीहरुमा दलीय प्रतिनिधिको राग बढी छ ।  हामीले खोजेको परिवर्तन भनेको ठूला गाडीहरु सिंहदरबारभित्र पसुन । त्यो गाडीको अघिल्लो सिटमा सचिव, दोस्रोमा सहसचिव, तेस्रोमा उपसचिव हुँदै अन्त्यमा कार्यालय सहायक बसून् । कार्यालयमा आज सम्पादन हुने कामको बैठक त्यहीं सकियोस् । एकले अर्कालाई हाकिम हैन, साथी हो भन्ने हार्दिक भावना विकास होस् । तर त्यतातिर जाने त परै जाओस् सोच्नु पनि अपराधजस्तो ठानियो ।

यस्तो विचार राख्नेहरु आफ्नै समूहमा अपमानित भए । सिंहदरबारमा परेको असिनापानीले जनताको बाली नास गर्ने नै भयो ।  फलस्वरुप ५० डिग्री तापक्रममा उँटको लिदी सोरेर पठाएको पैसा पनि आइफोन, टीभी, भिडियो जस्ता सामान किन्नमै सकिने गरेको छ । सिंहदरवारको यही बेथितिले हिउँ जस्तो कलकल पानी बग्ने ठाउँका नेपाली मिनरल वाटर, कोकाकोला र इनर्जी ड्रिंकका भोगी भएका छन् । कोकका बोतलका सवै पैसा विदेशीका हुन भन्ने हेक्का राज्यले दिन उचित ठानेन ।

किनकी हाम्रो राजनीतिले आफ्नो यात्रा तिनीहरुलाई रोक्ने हैन, बोक्ने तर्फ तय ग-यो । गाडीमा राष्ट्रिय झण्डा हल्लाए पनि एउटा अमूक व्यक्ति या शक्तिले कोरिदिएको रोडम्याप बोकेर मन्त्री बन्ने क्रम शुरु भयो । त्यसपछि त के थियो र ? एउटा मन्त्री र खेतालाको अन्तर खुटिन छोड्यो । विश्व चलाउने अमेरिकी राष्ट्रपति बाराक ओबामाले एक कप चिया पिउँदा सुरक्षा सल्लाहकार, टेनिस खेल्दा राजनीतिक सल्लाहकार र ब्रेकफास्ट गर्दा आर्थिक सल्लाहकारसंगको बैठक भ्याउँदा नेपालका भीभीआईपी, भीआईपीहरु एउटा खादाको लोभमा मेची महाकाली घुमिरहेका छन् । खुर्सानी पिरो, चिनी गुलियो र नून नुनिलोको तर्कमा चौबीस घण्टा मिल्काइरहेका हुन्छन् ।  

लाखौं छन् क्रस भिर्नेहरु तर अर्को ईशा आउन सकेन । गेरु वस्त्र पहिरिनेहरु लाखौं छन् तर बुद्ध अर्को बन्न सकेन । सबै बनबास जाने र स्वास्नी त्याग्नेहरु राम भएनन् । हातमा मुरली बोकी नाच्नेहरु त भए– कोही निस्किएन कृष्ण । बेलायतमा शेक्सपियर एउटै भए । सिंगो नै भए बर्नाड शा । समयको सदुपयोग नै जीवनको सदुपयोग हो । चेतनासंगै चिन्ता छ । कल्पनासंगै भावुकता छ । बुद्धिसंग तर्क र ज्ञानसंगै बैराग्य बाँचेको छ , महात्मा गान्धीले कन्जरभेटिभ पनलाई माया गरे । आखिर ब्रिटिस सानलाई त्यही साद्गीले झुकायो । काँचुली फेरियो सर्प उस्तै छ । प्रत्येकले भोग्ने जीवनको स्वाद उस्तै लागेपनि अनुभूति अलग हुन्छ । सरकारलाई त्यस्तो कार्यमा मात्र हस्तक्षेप गर्ने अधिकार छ, जुन कार्यले अधिकांश जनतालाई नराम्रो असर गर्ने सम्भावना छ ।  यदि मेरो छिमेकी ईश्वर बीस वटा छन या छँदै छैनन् भन्छ भने यसले न सरकारको पाकेट काटिन्छ, न खुट्टा भाँचिन्छ । यो सत्ताभन्दा बाहिरको व्यक्ति चेतना हो । 

प्रथम विश्वयुद्धको समयमा अधिकांश वैज्ञानिकहरुले जर्मनी छोडे । रोन्टजनले देश छोडेनन् । युद्धका कारण जर्मनी धेरै जीर्ण भएको थियो । ७३ वर्षीय रोन्टजन पौष्टिक आहारको अभावमा कमजोर बन्दै गए । उनको यस्तो अवस्था थाहा पाएपछि नेदरल्याण्डका केही साथीहरुले उनलाई चिनी, दूध, घिउजस्ता पौष्टिक पदार्थ पठाइदिए । तर रोन्टजनले ती सवै खानेकुरा छिमेकीलाई बाँडिदिए । किन त ? उनको तर्क थियो– छिमेकीहरु भोकमरीको शिकार भइरहेका बेला एक्लैले खान खोज्नु निकृष्ट काम हो । सम्झनुस् त नाकाबन्दीले जनताको चुलो चिसो भएका बेला कुन चाहीँ माइकलाल नेताले चुलो तताउने यत्न गरे ?

तानाशाह सशक्त र सफल सरकारबाट होइन, तिनीहरु जहिले पनि कमजोर र लाचार सरकारबाट जन्मन्छन् । इतिहासले यो प्रमाणित गरिसकेको छ । जनताले प्रजातान्त्रिक उपायद्वारा आफूलाई भय र भोकबाट बचाउन सक्ने बलियो सरकार पाए प्रजातन्त्र सफल र सबल हुुन्छ । त्यो भएन भने प्रजातन्त्र कमजोर र अधीर हुन थाल्छ । यसैले निरन्तर स्वतन्त्रता या प्रजातन्त्रको एउटै मात्र आधार सुरक्षा हो । जनताको हितको सुरक्षा गर्ने सरकार अनि सरकारमाथि आफ्नो प्रभावपूर्ण नियन्त्रर्ण राख्न सक्ने सशक्त र प्रवद्ध जनताले नै प्रजातन्त्र चिरपर्यन्त जीवन्त राख्न सक्छन् । नीति भन्छ– ‘राजा, वेश्या, यमराज, आगो, बच्चा, चोर, भिखारी र कर असुल्नेवाला कसैको दुख सम्झदैनन् ।’ 

हामीले आत्म स्वाभिमान शायद सुगौली सन्धीसंगै हरायौं । हार्दा हार्दा अब आज हामी यो सीमानामा आइपुगेका छौं, जहाँ हार्नु र मर्नु बराबर हुन्छ । तर हामी भन्छौं बाँचिरहेका छौं । हामी भित्र अभावै अभावको सम्पन्नता छ । बाहिर बाहिर चिच्याउँछौं । जुलुस निकाल्छौं । विरोध प्रदर्शन गर्छौं । तर भित्रभित्रै धमिराले खाइरहेको हाम्रो मन र स्वाभिमान लाचार भएर सहन्छौं । विदेशी सामु हाम्रा तिनै लाचारीको दोकान थापेर निगाहको दान अनुदानमा बाँचेका छौं । हामी जे हौं जे छौं आफुभित्र लुकाएर, जे हैनौं, जे छैनौं त्यही भ्रम उत्पन्न गर्न सारा शक्ति लगाइरहेका छौं । कालान्तरमा यस्तो अभिनयको परिणाम चिराइतो रोपेर उखुको स्वाद खोज्नुजस्तै हुने निश्चित छ । 
 

संकेत कोइराला गौतम बुद्ध

संम्बधित खबर

विशेष