News

कलैया वितरण केन्द्रका १५ सय पोल ढले, १० दिनभित्र सञ्चालन गर्ने लक्ष्य 

कलैया वितरण केन्द्रका १५ सय पोल ढले, १० दिनभित्र सञ्चालन गर्ने लक्ष्य 

काठमाडौं । बारा-पर्साको दक्षिणी भेगमा हावाहुरीले नेपाल विद्युत् प्राधिकरणको प्रसारण तथा वितरण पूर्वाधारमा झन्डै १५ करोड रुपैयाँको क्षति पुगेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार प्रसारण तथा वितरण लाइन, ट्रान्सफर्मर र सबस्टेसनमा क्षति पुग्दा बारा–पर्सा क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ । 

 

कलैया वितरण केन्द्रअन्तर्गत मात्र झन्डै १५ सय पोल ढलेको अनुमान केन्द्रका प्रमुख गजेन्द्रकुमार चौधरीको छ । उनले २० भन्दा बढी ट्रान्सफर्मरमा क्षति पुगेको बताए । तर, सदरमुकाम कलैयास्थित सबस्टेसनमा भने सोमबार नै चन्द्रनिगाहापुरस्थित सबस्टेसनबाट विद्युत् प्रवाह गरी बजार क्षेत्रमा आपूर्ति गरिएको छ । कलैया केन्द्रअन्तर्गत ९७ हजार उपभोक्ता रहेकोमा ६० प्रतिशत विद्युत् सेवाबाट वञ्चित भएको चौधरीले बताए ।

 

‘बाँसको झाङसमेत उखेल्ने गरी आएको हावाहुरीले वितरण लाइनका पोल नै टुक्राटुक्रा पारेको छ,’ उनले भने, ‘कतिपय ठाउँमा त पोल कहाँ थियो भन्ने नामोनिसान भेटिँदैन ।’ उनले १० दिनभित्र वितरण लाइन मर्मत गर्ने लक्ष्य रहेको जनाए । ‘प्रसारण लाइन भएका अधिकांश ठाउँमा अहिले गहुँबाली छ, नयाँ पोल जडान गर्दा बाली क्षति हुन सक्छ । मर्मतका लागि स्थानीयले साथ दिनुपर्छ,’ उनले भने । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

बारा-पर्सा

विशेष