News

डडेल्धुरा बस दुर्घटना : मृतक पाँचै जनाको सनाखत [अपडेट]

डडेल्धुरा बस दुर्घटना : मृतक पाँचै जनाको सनाखत [अपडेट]

डडेल्धुरा । डडेलधुरामा बुधबार बिहान भएको बस दुर्घटनामा परि मुत्यु भएका पाँचै शवको सनाखत भएको छ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले मृत्यु भएका सबैको सनाखत भएको बताए। उनका अनुसार मृत्यु हुनेमा बझाङको तल्लाकोट गाउँपालिका–४ का अन्दाजी ४० वर्षीय धनबहादुर घर्तीको बझाङकै केदारस्युँ गाउँपालिका–५ का अन्दाजी २५ वर्षीय नरेन्द्र गुरुधामी, अन्दाजी ५५ वर्षीया कल्सीदेवी बोहरा र ३५ वर्षीया हरुली बोहरा रहेकी छन्। उक्त घटनामा विहार भारतका मोहमद नासिरको पनि मृत्यु भएको छ।

गम्भीर घाइते बझाङ मस्टा गाउँपलिकाका विनोद थापा, भारत विहारका मनासिर, कैलालीको गोदावारी १० का रेशम चौधरी, बझाङको थलारा गाउँपालिकाका धनबहादुर चौहानलाई थप उपचारका लागि धनगढी पठाइएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए। अन्यको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ।

धनगढीबाट बझाङतर्फ गइरहेको ना६ख १८३१ नम्बरको यात्रुबाहक बस डडेल्धुराको साउखर्क नजिक बुधबार बिहान ५:३० बजे दुर्घटनामा परेको थियो। बस १०० मिटर तल खसेको बताइएको छ। उक्त घटनामा २० जना घाइते भएका थिए।

दुर्घटनाको कारण क्षमताभन्दा बढी यात्रु भएको प्रारम्भिक जानकारीबाट खुल्न आएको छ। बसमा खाद्य सामग्री र व्यापारिक प्रयोजनका सामग्रीहरु बढी हुनु तथा यात्रु पनि क्षमताभन्दा बढी भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।

डडेल्धुरा दुर्घटना

विशेष