News

४ वर्षमा ५ ग्रामीण सडकको ६१.९ किमी पुनर्निर्माण

४ वर्षमा ५ ग्रामीण सडकको ६१.९ किमी पुनर्निर्माण

काठमाडौं ।  भूकम्पले क्षतिग्रस्त पाँच ग्रामीण सडकको ६१.९ किमी पुनर्निर्माण सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ले जनाएको छ । निर्माण सम्पन्न भएका सडकमा भक्तपुरको तेलकोट–घट्टेडाँडा ७.६ किमी, ललितपुरको ठैब–गोदामचौर २.६ किमी, काभ्रेपलाञ्चोकको खोपासी–ढुँगखर्क १४ किमी, दोलखाको सुनखानी–साङ्बा २७.४ किमी र काठमाण्डाैको साँखु–पालुवारी–नगरकोटको १०.१ किमीको काम सकिएको हो ।

 

पाँचवटै सडक आयोजना पुनर्निर्माणका लागि एशियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण सहयोग रहेको एकाईका आयोजना उपनिर्देशक वरिष्ठ डिभिजनल इञ्जिनीयर अमृत श्रेष्ठले जानकारी दिए । भूकम्पले क्षति पुगेका थप १२ सडक आयोजना पुनर्निर्माणका लागि एडीबीले सहयोग  गरेको छ । बाह्र सडक आयोजनाको ३०१ किमीको काम चालू आवमा सकिने गरी भइरहेको जनाइएको छ । भूकम्पले क्षति भएको २४ सडक आयोजनाको ३४९ किमी सरकार आफैँले पुनर्निर्माण गर्ने उनले सुनाए ।

 

गोरखा भूकम्पले ८३ ग्रामीण सडकको एक हजार ५१ किमीमा क्षति पुर्‍याएको थियो । ३८ वटा सडक आयोजनाको ७०७ किमी पुनर्निर्माण जारी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । भूकम्पले क्षति भएका ४२ सडकको ३१६ किमीको काम सुरुहुन बाँकी रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए । चालू आर्थिक वर्षमा भूकम्पले भत्किएका ६० प्रतिशत सडक पुनर्निर्माण सक्ने प्राधिकरणको लक्ष्य छ ।  आर्थिक वर्ष २०७६/२०७७ सम्म ८० प्रतिशत र आव २०७७/२०७८ सम्म भूकम्पले भत्किएका सबै सडकको काम सकिने जनाइएको छ । भूकम्प प्रभावित २१ जिल्लाका सडक आयोजनाको पुनर्निर्माण भइरहेको छ । भूकम्प अति प्रभावित सिन्धुपाल्चोकका सडक आयोजना पुनर्निर्माण अझै सुरु हुन नसकेको उपनिर्देशक श्रेष्ठले स्वीकार गरे ।

 

केही विदेशी संस्थाले सिन्धुपाल्चोकका सडक आयोजना पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएकाले काम सुरुहुन नसकेको हो । भूकम्प गएको चार वर्ष पुग्दा पनि ती संस्थाले काम सुरुनगरेकाले एकाईले नै गर्ने गरी प्रस्ताव अघि बढाइएको छ । भूकम्प प्रभावित क्षेत्रका सडकका पुल हालसम्म पुनर्निर्माण हुन सकेको छैन । करीब एक दर्जन पुल पुनर्निर्माण स्वीकृतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव गरिएको एकाईले जनाएको छ । केही पुल पुनर्निर्माणको प्रस्ताव स्वीकृत भई आउने जानकारी आएको एकाई प्रमुख गणेशराज वस्तीले सुनाए । 

 

भूकम्पले क्षति पुगी पुनर्निर्माण गर्नुपर्ने विभिन्न विश्वविद्यालयका ३० क्याम्पसमध्ये हालसम्म दुई वटाको मात्र काम सम्पन्न भएको छ । हाल २१ क्याम्पस भवन पुनर्निर्माण भइरहेको प्राधिकरणका सहप्रवक्ता घिमिरेले बताए । सात क्याम्पस भवन अझै पुनर्निर्माण सुरुहुन सकेको छैन । 

भूकम्प पुनर्निर्माण

विशेष