News सफलताको कथा समाज प्रदेश ५

सामुदायिक विद्यालयमा मोबाइल फोन निषेध

सामुदायिक विद्यालयमा मोबाइल फोन निषेध

काठमाडौं। निजी विद्यालको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर झन्झन् खस्कदै गएको भन्दै पाल्पामा सामुदायिक विद्यालयमा मोबाइल फोन निषेध गरिएको छ । 

पाल्पा रामपुर नगरपालिका–४ देवीस्थानस्थित कालिका आधारभूत विद्यालयले यसै शैक्षिक सत्रदेखि विद्यालय समयमा मोबाइल फोन प्रयोगमा निषेध गरेको हो । 


सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा मोबाइल फोनले प्रतिकुल प्रभाव पारेको भन्दै उक्त विद्यालयले विद्यालय समयमा फोन प्रयोग निषेध गरेको हो ।

सामुदायिक विद्यालयमा शिक्षकले अनुशासित भएर नपढाएकाले शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको धेरैको आरोप छ । समयमै विद्यालय नपुग्ने, विद्यालय समय अवधिभर नबस्ने, कक्षाकोठा भित्रै मोबाइल फोन उठाएर कुराकानी गर्ने प्रवृत्ति शिक्षकहरुमा रहेको भन्दै क्लासमा फोन प्रयोगलाई बन्देज गरिएको छ । 

 

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ र शिक्षक कर्मचारीको सहमतिमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कुनै पनि शिक्षक वा कर्मचारीले मोबाइल फोन प्रयोग गर्न नपाउने नियम लागू गरिएको हो ।

शैक्षिक गुणस्तर वृद्धि गरी नमूना विद्यालयका रुपमा चिनाउन विद्यालयले शुरु गरेको यो कार्यप्रति सरोकारभएका व्यक्तिले प्रशंसा गरेका छन् । यसै विद्यालको सिको गर्दै नगरपालिकाका अन्य विद्यालयले पनि यो नियम लागु गर्ने तयारीमा छन् । 

 

कक्षाकोठाभित्रै शिक्षकले मोबाइल फोनको प्रयोग गर्दा शैक्षिक गुणस्तर खस्किँदै गएको अभिभावकका गुनासो आएपछि विद्यालय समयभित्र मोबाइल फोनको प्रयोग निषेध गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराम ठाडाले बताएका छन् । 

“भर्ना अभियानको क्रममा घरदैलो गर्दा कक्षा कोठाभित्रै शिक्षण कार्य रोकी शिक्षक फोन उठाएर आनन्दले कुराकानी गरेर बस्छन्, विद्यार्थीले के सिक्छन् ? अन्य विद्यालयमा भर्ना गराउने कुरा अभिभावकले गरेकाले तत्काल समितिको बैठक बसेर यस्तो निर्णय गरेका हौँ ।”

 

यसमा सरोकार भएका पक्षको सहमतिमा शैक्षिक सत्रको शुरुआतमै मोबाइल फोन विद्यालय समयभित्र निषेध गर्ने कार्य शुरु गरिएको उहाँको भनाइ छ । 

अति आवश्यक काम परे प्रधानाध्यापकको मोबाइलबाट शिक्षकलाई अनूकुल समय मिलाएर कुरा गराउने व्यवस्था मिलाइएको छ । खाजा खाने समयबाहेक अरु समय मोबाइल फोन प्रधानाध्यापकको निगरानीमा राख्ने व्यवस्था गरिएको प्रधानाध्यापक सोमबहादुर सेनले बताए । 

 

यसै शैक्षिक सत्रदेखि बिहान १० देखि दिउँसो ४ बजेसम्म विद्यालको प्रवेशद्धारमा साँचो लगाउने गरिएको छ । यस विद्यालयमा कक्षा नर्सरीदेखि ४ सम्म अङ्ग्रेजी माध्यम र पाँचदेखि आठसम्म नेपाली माध्यममा पठनपाठन भइरहेको छ ।

यो नियम लागु भएसँगै अघिल्लो शैक्षिक सत्रको तुलनामा यस वर्ष विद्यार्थी भर्नादर समेत बढेको विद्यालयले जनाएको छ । 

हाल विद्यालयमा १३० विद्यार्थी र दश शिक्षक कर्मचारी छन् । 

सामुदायिक विद्यालय

विशेष