भूमाफियाले हडपेका सबै जग्गाको खोजतलास गरिने
काठमाडौं । भूमाफियाले कब्जा जमाएका देशभरका सार्वजनिक जग्गा खोजतलास गर्न सरकारले उच्चस्तरीय आयोग गठनको प्रक्रिया थालेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरमा भूमाफियाबाट अतिक्रमणमा परेका सरकारी तथा सार्वजनिक जग्गाको खोजी गर्न उच्चस्तरीय आयोग गठनको प्रक्रिया थालेको हो । मन्त्रालयका सचिव गोपीनाथ मैनालीले आयोग गठनको प्रस्ताव परामर्शका लागि अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिए ।
आयोगमा बस्ने पदाधिकारीको खर्च व्यवस्थापनका लागि अर्थ मन्त्रालयबाट स्वीकृत गर्नुपर्ने भएकाले सो प्रस्ताव अर्थमा पठाइएको हो । सचिव मैनालीले अर्थ मन्त्रालयबाट स्वीकृत भएर आउनासाथ सो प्रस्ताव मन्त्रिपरिषद्मा पठाइने बताए । छिटोभन्दा छिटो आयोग गठन गरी काम थाल्ने गृहकार्यलाई तीव्रता दिइएको उनले जानकारी दिए । यस विषयमा गृह मन्त्रालयसँग पनि आवश्यक छलफल भइरहेको सचिव मैनालीको भनाइ छ ।
आयोग गठनसँगै भूमाफियाहरुले कब्जा जमाएका देशभरका सरकारी जग्गा फिर्ताको प्रक्रियासमेत थालिनेछ । भूमि व्यवस्था मन्त्रालयका अनुसार सो आयोगले सबै प्रकारका सार्वजनिक जग्गाको अवस्थाबार समेत पहिचान गर्नेछ । साथै आयोगले भूमाफियाहरुको समेत निक्र्योल गर्नेछ भने जग्गा हडप्ने कार्यमा संलग्न कर्मचारीबारे समेत खोजीनिती गर्नेछ । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।