नेविप्राले राहुघाट जलविद्युत आयोजनाको वार्षिक करिब ६ लाख युनिट विद्युत किन्ने
काठमाडौं । बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको विद्युत् खरीदबिक्री सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत् प्राधिकरण र राहुघाट आयोजनाबीच गत सोमबार काठमाडौंमा विद्युत खरिद–बिक्री संवन्धि संझौता भएको हो ।
प्राधिकरणका तर्फबाट नेविप्राका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाबाट कम्पनीका प्रवद्र्धक तथा रघुगङ्गा हाइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक श्रीरामराज पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार कम्पनीले प्राधिकरणलाई ४ रुपैयाँ ५० पैसा देखि १० रुपैयाँ ५५ पैसा प्रतियुनिट विद्युत उपलब्ध गराउने छ ।
सुख्खायामको छ महीना पिक आवरमा प्रतियुनिट १० रुपैयाँ ५५ पैसा र सामान्य समयमा ८ रुपैयाँ ४० पैसामा विद्युत् खरीद बिक्री गर्ने सम्झौता भएको कम्पनीका सहायक निर्देशक गोपाल पाठकले जानकारी दिए।
बर्खाको छ महीना भने प्रतियुनिट ४ रुपैयाँ ५० पैसाका दरले मात्र प्राधिकरणले आयोजनाको विद्युत् खरीद गर्नेछ । संझौताअनुसार प्रतिवर्ष तीन प्रतिशतका दरले ८ वर्षसम्म विद्युत्को मूल्यवृद्धि हुनेछ ।
रघुगङ्गा हाइड्रो लिमिटेड प्राधिकरणको शत प्रतिशत लगानी रहेको सहायक कम्पनी हो। यो कम्पनी विसं २०७३ मा स्थापना भएको थियो ।
भारतीय एक्जिम बैंकको ४४ मिलियन डलर सहुलियतपूर्ण ऋण, नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानी रहने यस आयोजनाको कूल लागत निर्माण अवधिको ब्याजसहित रु ८ अर्ब ५९ करोड अनुमान गरिएको छ ।
अर्धजलाशययुक्त बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने जनाएको छ ।
सुख्खायाममा ४३.५ र बर्खायाममा ६५.९५ प्रतिशत विद्युत् उत्पादन हुने यस आयोजना २०७४ मङ्सिर ५ गते भारतीय जयप्रकाश एसोशिएटसँग ठेक्का सम्झौता भएको थियो । हालसम्म यस आयोजनाको १२ प्रतिशत काम सक्किसकेको छ ।
राहुघाट जलविद्युत् आयोजना