विदेश

श्रीलंका बम बिस्फोटमा मारिनेको संख्या घट्यो

श्रीलंका बम बिस्फोटमा मारिनेको संख्या घट्यो

बीबीसी । श्रीलंका सरकारले गत आइतवार चर्च र होटलहरूमा भएका आत्मघाती बम विस्फोटनमा मारिनेहरूको संख्या निक्कै घटाएको छ । मृतकहरूको गणनामा गल्ती भएको भन्दै स्वास्थ्य मन्त्रालयले उक्त घटनामा परि दुई सय ५३ जनाले मात्र ज्यान गुमाएको जनाएको हो । पछिल्लो संख्या पहिले भनिएको मृतकहरूको संख्याको तुलनामा करिब एक सयले कम हो । 

 

एकजना अधिकारीले मानव शरीरका धेरै अवशेषहरूले गर्दा मृतकको संख्या गणनामा कमजोरी हुन गएको बताएका छन्। गत आइतवार राजधानी कोलम्बो र पूर्वी क्षेत्रको एउटा शहरमा रहेका चर्चहरू र होटलहरूमा आक्रमण हुँदा ती मानिसहरू मारिएका थिए। मारिनेमध्ये धेरै श्रीलङ्काली नागरिकहरू छन् भने केही विदेशीहरू पनि छन् । उक्त घटनामा सयौँ मानिसहरू घाइते भएको अधिकारीहरूले जनाएका छन् । नौ जना व्यक्तिहरूले ती हमलाहरू गरेको शङ्का गरिएको छ । प्रहरीले आक्रमणकारीहरूसँग निकट रहेकाहरूको खोजी जारी राखेको छ ।आक्रमणकारीसँग सम्पर्कमा रहेका सात जना खोजी भइरहेका व्यक्तिहरूको तस्बिर पनि प्रहरीले सार्वजनिक गरेको छ । 

 

अधिकारीहरूले श्रीलङ्काको एउटा अतिवादी इस्लामिक समूहलाई उक्त घटनाका लागि दोष दिइरहेको छ । इस्लामिक स्टेटले उक्त घटनामा आफ्नो हात रहेको बताए पनि हालसम्म त्यसको पुष्टी हुने प्रर्याप्त प्रमाणहरू भेटिएका छैनन् । उक्त घटनापछि श्रीलङ्काका अल्पसंख्यक मुस्लिमहरूमा उत्पीडन भोग्नुपर्ने डर पैदा भएको खबरहरू आएका छन् ।

 

श्रीलंकाका कट्टरपन्थी मुस्लिहरूले धर्म विरोधी ठान्ने गरेको अहमदी सम्प्रदायका सयौँ मानिसहरूलाई प्रहरीको सुरक्षामा मस्जिदहरूमा राखिएको छ । प्रधानमन्त्री रनिल बिक्रमसिङ्घले पनि केही अहमदी मुस्लिमहरूलाई आक्रमणको निशाना बनाइएको पुष्टि गरेका छन् । उनले सरकारले अल्पसङ्ख्यकहरूको सुरक्षा गर्ने प्रतिबद्धता जनाएका छन्।

श्रीलंका बम बिस्फोट

विशेष