प्रचण्डको बोली, राजदूत कार्कीलाई गोली
अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की लगानी सम्मेलनको निहुँमा यतिबेला काठमाडौंमा छन् । अघिपछि भए उनी आए गएको खासै मतलब हुँदैनथ्यो । यसपाली भने उनीतर्फ धेरैको ध्यान मोडियो ।
कारण थियो– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमण र भ्रमणका विषयलाई लिएर उब्जिएका तरंग । प्रचण्डले विमानस्थलमा दिएको अभिव्यक्तिले राजदूत कार्की विवादको चक्रव्यूहमा परेका छन् । प्रचण्डलाई खुसी पार्न उनले बुनेका जाल स्वयं प्रचण्डबाट सार्वजनिक भएपछि उनका गतिविधिका विषयमा प्रश्न उठेको हो ।
पत्नी सीता दाहालको उपचारपछि स्वदेश फर्कने क्रममा नेकपा अध्यक्ष प्रचण्डले त्रिभुवन विमानस्थलमा दिएको अभिव्यक्तिका कारण कार्कीबारे धेरैको जिज्ञाशा बढेको हो । प्रचण्डले भनेका थिए– ‘मलाई केही भइहाल्छ कि भनेर राजदूतले विमानस्थलबाट भूमिगतरूपमा दूतावास पुर्याउने व्यवस्था गर्नुभएको रहेछ ।’
आखिर हुनेवाला त केही थिएन । अमेरिका बस्दै आएका एक नेपालीले प्रचण्डलाई पक्राउ गर्न भन्दै अमेरिकाको संघीय जाँच ब्यूरोमा उजुरी दिएको सन्दर्भमा प्रचण्डको उक्त अभिव्यक्ति आएको थियो । तर, सोही अभिव्यक्तिका कारण राजदूत कार्कीको भूमिका रचनात्मकभन्दा अतिरञ्जनात्मक भएको टिप्पणी जानकारहरूले गर्न थाले । कतिसम्म भने अमेरिकामा रहेका पत्रकारलाई प्रचण्ड अमेरिका भएसम्म फोटो खिच्न र समाचार सम्प्रेषण नगर्न उर्दी लगाएका थिए ।
नेपाल आएका राजदूत कार्कीलाई सबैजसो सोही बारेमा प्रश्न गरेका छन् । अमेरिकाको सुरक्षा प्रणालीका बारेमा जानकारहरुले राजदूत कार्कीले प्रचण्डलाई गलत ब्रिफिङ गरेको र व्यक्तिगत प्रभाव पार्नका लागि नेतालाई भ्रमित गरेको बताइसकेको सन्दर्भमा कार्की रक्षात्मक बनेको देखिएको छ । कार्कीले प्रचण्डलाई भूमिगत यात्रा नगराएको भन्दै सो प्रसंग प्रचण्डले कहाँबाट ल्याए भनेर आफैँ छक्क परेको बताएका छन् ।
पूर्व एमाले पृष्ठभूमिका नेकपा नेताहरुको भेटमा कार्कीले प्रचण्डलाई हाँसोको पात्र बनाएको बुझिएको छ । उनले प्रचण्डको भूमिगत यात्राबारे प्रचण्डको खिल्ली उडाउँदै भनेका छन्– ‘प्रचण्डजीलाई मैले विमानस्थलबाट निस्कने बेलामा पार्किङसम्म टनेल हुँदै पुर्याएको हुँ, डिसी (दूतावास) पुग्ने बेलामा पनि एउटा टनेल कटाएको हुँ । सायद त्यही भएर वहाँलाई भूमिगत शैलीमा लगेजस्तो लाग्यो कि ?’
कार्कीको यस्तो जवाफ सुन्ने मध्येका नेकपाका एक नेताले नेपाल आजसँग भने, ‘कार्कीजीको कुरा हँसाउने खालको छ । डिसीको अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएर पार्किङ जाने क्रममा टनेल (सुरुङ) रहेछ, त्यही भएर प्रचण्डजीले भूमिगत यात्रा मान्नु भएछ ।’ कार्कीको यस्तो जवाफले प्रचण्डलाई हाँसोको पात्र बनाएको छ । नेतापिच्छे फरक कुरा गर्ने, व्यक्तिगत चाकडीमा रमाउने तर दुःखमा परेका अमेरिकास्थित नेपालीका लागि केही नगर्ने भनी राजदुत कार्कीको आलोचना हुँदै आएको छ ।
यसअघि अमेरिकामा निधन भएकी एक किशोरीको परिवारलाई सहयोग लिएर आएका एनआरएन अमेरिकाका नेता कृष्ण लामिछानेले राजदूत कार्कीको भूमिकालाई लिएर सार्वजनिक टिप्पणी गरेका थिए । गला अबरुद्ध पार्दै उनले भनेका थिए, ‘बहिनीको परिवारका लागि प्रवासमा रहेका धेरै नेपालीले सहयोग गर्नुभयो तर राजदुतलाई थाहा छैन होला । मेरो आफ्नै भाइको अमेरिकामा हत्या भयो । सो विषय नेपालको संसदमा पनि उठ्यो तर कार्कीले एक कल फोनसमेत गरेर सहानुभूति व्यक्त गरेनन् । यो आम पीडा हो, म सरकारको ध्यानाकर्षण गर्दछु ।’
कर्मचारीतन्त्रले नेतालाई कसरी उल्लू बनाउँछ भन्ने यो पछिल्लो उदाहरण हो । पढेलेखेको, दुईपटक प्रधानमन्त्री भएको, त्यत्रो क्रान्तिबाट स्थापित नेताको अवस्था त यस्तो छ भने अरु जनप्रतिनिधिको हालत कस्तो होला ? राजदुत काकी एनजीओ सञ्चालक हुन् । उनी संस्थापक रहेको नेपाल ग्रामीण पुनर्निर्माण संस्था (एनआरएन) सातवटै प्रदेशमा कार्यरत छ ।
जुन संस्थाले विकास, लोकतन्त्र र मानवअधिकारका क्षेत्रमा काम गर्ने उल्लेख छ । संस्थामार्फत विदेशी सहयोग ल्याउन खप्पीस कार्की पैसाको बलमा समर्थक जुटाउन माहिर मानिन्छन् । राजदूत पद पनि यसैको एउटा कडी रहेको पूर्व एमाले कार्यकर्ताहरू हाकाहाकी बताउँछन् ।
अमेरिकामा बसेर पत्रकारिता गरिरहेका पत्रकार किशोर पन्थीका अनुसार प्रचण्ड अमेरिका आउँदै गरेको अमेरिकी सरकारलाई उनी काठमाडौंबाट हिँडेदेखि नै थाहा थियो । अझ प्रचण्डको अमेरिका आउने योजना त अमेरिकी सरकारलाई भिसा जारी गरेदेखि नै थाहा थियो ।
अमेरिका आउने क्रममा कुनै पनि यात्रु विमानमा चढेदेखि नै एड्भान्स पेसेन्जर इन्फर्मेसन सिस्टम (एपिआइएस) मार्फत एयरलाइन्सले सबै यात्रुको विवरण कस्टम एन्ड बोर्डर प्रोटेक्सन (सिबिपी) लाई बुझाउने गर्छ । सिबिपीले इन्टर एजेन्सी बोर्डर इन्सपेक्सन सिस्टम (आइबिआइएस) मार्फत कुन यात्रुलाई अमेरिकामा थप चेकजाँच आवश्यक छ, त्यसको निर्धारण गर्छ । एफबिआई, इन्टरपोललगायत २० संघीय एजेन्सीले प्रयोग गर्ने आइबिआइएस प्रणाली प्रयोग गरी अमेरिकी कन्सुलेटले भिसा जारी गरेको हुन्छ ।
पत्रकार पन्थी लेख्छन– अर्कातर्फ प्रचण्डलाई भिसा जारी गर्दा विशेष प्रकारको वेभर जारी गरिएको थियो । त्यो भिसा वेभर अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ स्टेटले कुनै व्यक्ति अमेरिकाका लागि खतरा नरहेको र अमेरिकामा यात्रा गर्न योग्य रहेको निर्धारण गरेपछि जारी गरिन्छ । अमेरिकी दूतावासले भिसा जारी गर्नुभन्दा अगाडि डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ स्टेटलाई गरेको अनुरोधका आधारमा विभिन्न डाटाबेस चेक गरेर यस्तो वेभर जारी गरिन्छ । वेभरमा अमेरिका आएका प्रचण्डलाई अमेरिकी सरकारलाई नै छलेर भूमिगत शैलीमा एयरपोर्टबाट निकाल्ने कुरा गर्नु अत्यन्तै हास्यास्पदमात्र छैन, सत्तासीन दलका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्रीको अपमानसमेत भएको छ ।
अमेरिकामा आपराधिक गतिविधि गरेको वा कुनै आतंकवादी गतिविधिको शंका लागेको खण्डमा एफबिआइमा दिन सकिने टिप्सलाई आधार मानेर जुन हल्ला मच्चाइयो, त्यो पनि आश्चर्यजनक छ । पहिल्यै एफबिआई क्लियरेन्स पार गरिसकेका प्रचण्डले अमेरिकामा न कुनै आपराधिक गतिविधि गरेका थिए न कुनै आतंकवादी क्रियाकलाप ।
त्यसैले, त्यस्ता सूचनालाई एफबिआईले हावादारी सूचनाका रूपमा लिनुका साथै गलत नियतवश कसैले कसैविरुद्ध त्यस्ता उजुरी दिएमा युएस कोड सेक्सन १००१ को टाइटल १८ अनुसार उजुरी गर्नेलाई जेल, जरिवाना वा दुवै सजाय हुन सक्छ । कसैले पटकपटक एउटै प्रकारका त्यस्ता हावादारी सूचना दिएमा भविष्यमा सम्बन्धित व्यक्तिले दिने कुनै सूचना नै एफबिआइले स्वीकार गर्दैन ।
सत्तासीन बहुमतप्राप्त दलका राजनीतिक नेतालाई अन्डरवल्र्डको कुनै अपराधीलाई गैरकानुनी रूपमा बोर्डरबाट छिराएर अमेरिका घुमाएजस्तो शैली किन अपनाइयो ? यसबारे अमेरिकामा रहेको नेपाली दूतावासको कूटनीतिक भूमिकाबारे बहस हुन जरुरी छ ।
यसैबीच अमेरिका भ्रमणमा रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजदूत कार्कीको भूमिकालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् । कार्कीका गतिविधिका बारेमा न्यूयोर्कमा बस्ने नेपाली समुदाय र पत्रकारले प्रश्न गरेका थिए । जवाफमा पोखरेलले बिषयवस्तुलाई गम्भीरतापूर्वक लिइएको र सरकार बेखबर नरहेको जनाएका थिए ।