News

अज्ञात रोगका कारण हुम्लामा ८ को मृत्यु, दर्जन बढी बिरामी

अज्ञात रोगका कारण हुम्लामा ८ को मृत्यु, दर्जन बढी बिरामी

हुम्ला : ताजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण ८ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी बिरामी परेका छन्। ताजाकोट गाउँपालिकाको मैला, मदान, दर्जो गाउँमा एक सातादेखि फैलिएको अज्ञात रोगका कारण शुक्रबारसम्म मर्नेको संख्या आठ पुगेको हो।

एक साता अघि पानी परेपछि बिरामीलाई वाकवाकी लाग्ने, टाउको दुख्ने, छाती दुख्ने, ज्वरो आउने गरेको स्थानीयले बताएका छन्। बिरामीको उपचार र रोगको पहिचान नभएका कारण रोग फैलिँदै गएको स्थानीयको भनाइ छ। ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थामा औषधि र स्वाथ्यकर्मी नभएकाले उपचारमा समस्या भएको बिरामीको संख्या बढेको गाउँपालिका अध्यक्ष बाग्दल मल्लले बताए। 

अध्यक्ष मल्लका अनुसार अहिले संक्रमित गाउँमा शिविर सञ्चालन भइरहेको र कुनै पनि स्वास्थ्यकर्मीलाई कार्यक्षेत्र नछोड्न पनि निर्देशन दिएको बताए। यस्तै, औषधि र स्वास्थ्यकर्मीको अभाव हुन नदिन र रोगको रोगथामका लागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली घटना स्थलमा जाने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष मल्लको भनाइ छ। 

घटनास्थल सदरमुकाम सिमकोटदेखि ४५ कोष टाढा भएकाले के कारणले मृत्यु भएको भन्ने जानकारी नभएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए। मृत्यु हुनेमा १० महिने बालकदेखि ५० वर्षभन्दा माथिका रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

जुम्ला बिरामी

विशेष