News

वीर अस्पतालमा खरिद अनियमितताः १ पैसामा अण्डा !

वीर अस्पतालमा खरिद अनियमितताः १ पैसामा अण्डा !

काठमाडौं । अहिलेको बजार भाउअनुसार एक पैसामा अण्डा किन्न पाइन्छ ? चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल खरिद इकाईले पत्याउनै नसकिने भाउमा खाद्यान्न खरिद गरेको भेटिएको छ  । अस्पतालले चिनी, बिस्कुट, तेललगायत खाद्य सामग्री एक रुपैयाँमा खरिद गरी बिरामीलाई खुवाइने खानाको गुणस्तरमै शंका उब्जाइदिएको छ  । अस्पतालले वैशाख १ गते रासन सामग्री खरिदका लागि न्यु सुयोग इन्टरप्राइजेजको टेन्डर स्वीकृत गर्‍यो । टेन्डरका लागि निवेदन दिने तीन फर्ममध्ये सबैभन्दा सस्तो मूल्यमा सामान दिने सम्झौताअनुसार अस्पतालले सुयोगको टेन्डर स्वीकृत गरेको थियो । सस्तोमा दिए पनि सुयोगको योग्यता भने अस्पतालले तोकेअनुरुप थिएन ।


सुयोगले अस्पताललाई बुझाएको रासन परिणामसहितको मूल्यसूची हेर्दा पत्याउनै नसकिने छ । अहिलेको बजारभाउ अनुसार एउटा अण्डाको मूल्य १० देखि १२ रुपैयाँ पर्छ । सुयोगले अस्पताललाई प्रतिअण्डा एक पैसा तोकेको छ । चना प्रतिकिलो एक रुपैयाँ त्यस्तै जिरा, अदुवा ,बेसारको मूल्य पनि एकै रुपैयाँ तोकेको छ । तोरीको तेल प्रतिलिटर एकै रुपैयाँ छ भने नुन, गहुँको आँटा, चिनीको मूल्य पनि प्रतिकिलो १ रुपैयाँ नै छ । पत्याउनै नसकिने मूल्यको खाद्यान्न खरिद सम्झौता गर्न नहुने भन्दै पटकपटक विरोध गर्दा पनि अस्पतालले सुयोगकै टेन्डर स्वीकृत गरेको इकाईका एक कर्मचारीले बताए ।

 

उनले भने, ‘खाद्यान्न सामग्री खरिद सम्झौता गर्नुपूर्व गुणस्तर मापन गर्नुपर्छ । अस्पतालले गुणस्तर मापन नै नगरी सस्तो दिएकै भरमा बिरामीको खानाका लागि यस्तो खाद्यान्न किनिरहेको छ ।’ कर्मचारीका अनुसार यस्ता फर्मले टेन्डर हात पार्नकै लागि सामग्रीको सस्तोभन्दा सस्तो मूल्य तोक्छन् । टेन्डर हात परिसकेपछि एक दुई महिना तोकेकै भाउमा सामान दिन्छन् । त्यसपछि सामग्रीको बजार अभाव भन्दै अस्पतालमा सामान पठाउँदैनन् । कर्मचारी भन्छन्, ‘सामान अभाव भएपछि अस्पतालले अन्तैबाट कोटेसन (५ लाखभन्दा कम मूल्यको सिधै खरिद प्रक्रिया) मा सामान खरिद गर्छ । कोटेसनमा खरिद गरिएका सामान फेरि बजारभाउअनुसार नै महँगो हुन्छ ।’

 

अस्पतालको खरिद इकाई प्रमुख भगवती थपलियाको मिलेमतोमा बारम्बार खरिद कारोबार गर्दा अनियमितता भइरहने स्रोत कर्मचारी बताउँछन् । वीर अस्पतालका निर्देशक डा.केदार सेञ्चुरी मूल्याकंन समितिसँग छलफल गरेरै सुयोग फर्मलाई टेन्डर दिएको बताउँछन् । उनी भन्छन्, ‘ऐनअनुसार जसले सस्तोमा दिन्छ हामीले उसकै टेन्डर स्वीकृत गर्नुपर्छ । सुयोगले पत्याउनै नसकिने सस्तो भाउमा सामान दिएको हो तर सम्झौताअनुरुप बीचमा यही मूल्यमा सामान दिएन भने हामी सुयोगको टेन्डर रद्द गरिदिन्छौं ।’

 

एक पैसामा त कुहिएको अण्डा पनि नपाउने बताउँदै न्याम्सका उपकुलपति डीएन शाह भन्छन्, म ‘आलुप्याजको भाउ चेक गरेर बस्दिनँ । रजिस्टार, अस्पतालका निर्देशक, लेखा शाखा र मूल्याकंन समितिबाटै सुयोगलाई टेन्डर दिने सिफारिस आएपछि मैले विश्वास गरेर टेन्डर स्वीकृतमा हस्ताक्षर गरेको हुँ ।’ यति मात्रै होइन, टेन्डर कारोबारमा न्याम्सले पटकपटक अनियमितता गर्दै आएको छ । जसले सस्तोमा दिन्छ उसकै टेन्डर स्वीकृत गर्नुपर्ने नियमविपरीत न्याम्सले चमेना गृहको टेन्डर स्वीकृत गरेको छ । तीन वर्षअघि वीर अस्पतालभित्रको चमेना गृह सञ्चालन गर्न चार फर्मले टेन्डरका लागि निवेदन हालेका थिए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

वीर अस्पताल खरिद अनियमितता

विशेष