News

झापामा पैसा लिइर नागरिकता बनाइदिने गिरोह सक्रिय

झापामा पैसा लिइर नागरिकता बनाइदिने गिरोह सक्रिय

विर्तामोड । मोटो रकम असुलेर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने गिरोह झापामा सक्रिय रहेको पाइएको छ ।

गृह मन्त्रालयले जन्मसिद्धका छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिन परिपत्र गरे यता गैर नेपाली नागरिकले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय नागरिकलाई रकम खर्चेर किनेपछि कागजात मिलाएर नेपाली नागरिकता लिने क्रम बढेको पाईएको हो । पछिल्लो पटक कचनकवल गाउँपालिका २ बस्ने बमबहादुर गुरुङ र उनकी श्रीमती चन्द्रकला गुरुङले आफ्नो जेठो छोरा भन्दै भारतीय नागरिक भुपाल गुरुङलाई नेपाली नागरिकता बनाउन सम्पूर्ण प्रकृया पुर्याएर जिल्ला प्रशासन ल्याउने क्रममा पक्राउ परेपछि यसको रहस्य बाहिर आएको हो ।

स्थानीय व्यक्तिले प्रहरीमा नागरिकतासम्बन्धी गोप्य उजुरी दिएपछि आर्थिक चलखेल हुने गरेको रहस्य छताछुल्ल भएको छ । वडाबाट सिफारिस देखि जन्मदर्ता सम्मका घटना मिलाउन मोटो रकम खर्चेर स्थानीय जनप्रतिनिधि तथा दलका व्यक्तिहरूले भूमिका खेलेको पाइए पनि कारवाहीको दायरामा नक्कली बाबु—छोरा मात्र परेका छन् ।

आवश्यक कागजात पूरा गरी बमबहादुरले आफ्नो जेठो छोरा भन्दै भुपाललाई नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय झापा लगेका थिए । प्रशासन कार्यालयमा खटिएका प्रहरी टोलीले भारतीय नागरिक भुपालसहित बम बहादुरलाई नियन्त्रण लिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले बताए । यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो।

नागरिकता गिरोह पक्राउ

विशेष