News

क्याप्टेन लामाले उड्डयन क्षेत्रका ऐन नियमको कक्षा लिनुपर्ने

क्याप्टेन लामाले उड्डयन क्षेत्रका ऐन नियमको कक्षा लिनुपर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले क्याप्टेन लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाउन निर्देशन दिएसँगै निगमले लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको हो । गत चैत १९ गते राति निगमको दुबई उडान रद्द भएसँगै उड्डयन क्षेत्रको नियम उल्लंघन गर्दै सञ्चारमाध्यममा अभिव्यक्ति दिएपछि प्राधिकरणले वैशाख ४ गते ७ दिने अल्टिमेटम दिँदै लामासँग स्पष्टीकरण सोधेको थियो ।

 

क्याप्टेन लामाले दिएको प्रष्टिकरण चित्त बुझ्दो नभएपछि प्राधिकरणले प्रवक्ताबाट नहटाएसम्म लामाको पाइलटको लाइसेन्स निलम्बन गर्ने निर्णय गरेको थियो । निगमका सहप्रवक्ता नवराज कोइरालाले भने, ‘प्राधिकणले क्याप्टेन लामालाई दोहोरो भूमिकाबाट हटाउन पत्र पठाएको थियो । नियामक निकायको पत्रलाई कार्यान्वयन गदै पदमुक्त गरिएको पत्र प्राधिकरण पठाएका छौं।’

 

लामा प्रवक्ता जिम्मेवारबाट पदमुक्त भएपछि उनको लाइसेन्स निलम्बन फुकुवा भएको प्राधिकरणले जनाएको छ । ‘नियमक निकायको पहिलो चासो सुरक्षा हो ।’ प्राधिकरण उच्च स्रोतले भन्यो, ‘पाइलटले म थकानमा छु, अनिद्रामा छु, अस्वस्थ रहेको बताउनु उडान सुरक्षाका हिसाबले गम्भीर हो ।’ लामाले सञ्चारमाध्यममा दिएको अन्तरवार्तामा ती कुरा बताउनु भएको थियो । प्राधिकरण स्रोतले भन्यो, ‘लामामा एकदमै दम्भ रहेको पायौं, नागरिक उड्डयन प्राधिकरणसम्बन्धी ऐन नियमको कमी भएको पाइएकाले उहाँले कानुनी कक्षा लिनु पर्ने हुन्छ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।

नेपाल वायुसेवा निगम नेपाल नागरिक उड्डयन प्राधिकरण क्याप्टेन विजय लामा

विशेष