विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बु गाउँपालिकामा पहिलो पटक मोटर
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बुपासाङल्हामु गाउँपालिकामा पहिलोपटक गाडी पुगेको छ । प्रदेश नंबर १ को सल्लेरीदेखि माप्यदूधकोशी गाउँपालिका हुँदै खुम्बुपासाङल्हामु–१ खरिखोला जोडिएको सडकको मङ्गलबार उद्घाटन भएको छ ।
उक्त सडक खण्डकाे उद्घाटन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गरेका छन् ।
सडकको उद्घाटन गर्दै मुख्यमन्त्री राईले गाउँपालिका केन्द्र चौरीखर्कसम्म सडक विस्तार गर्न प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सडक पुगेसँगै हवाईमार्ग हुँदै लुक्ला विमानस्थल तथा सल्लेरीदेखि माप्यदूधकोशी हुँदै करीब तीन दिनको पैदलयात्रा गर्नुपर्ने बाध्यताको अन्त्य हुँदा आन्तरिक पर्यटनमा समेत वृद्धि हुने मन्त्री राईको विश्वास छ ।
माप्यदूधकोशी र खुम्बुपासाङल्हामु गाउँपालिकाको संयक्त लगानीमा खरिखोलासम्म सडक पु¥याइएको गाउँपालिकाले जनाएको छ ।
तेञ्जिङ हिलारी विमानस्थलको मौसम प्रतिकूल हुँदा हप्तौसम्म स्वदेशी तथा विदेशी पर्यटक लुक्लामै अलपत्र अवस्थामा बस्नुपर्ने बाध्यता छ । कतिपयले महङ्गोमा हेलिकप्टर चार्टर गरेर काठमाडौँ जाने भए पनि कतिपय पर्यटक भने हप्तौसम्म कुरेर फर्कने गरेका छन् ।
मुख्यमन्त्री राईले वर्षेनी पचासौं हजार स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने स्थानीय तहलाई ‘पर्यटकीय गाउँपालिका’ घोषणा गर्ने र पुरस्कृत गर्ने उद्घोष समेत गरे ।
यसै अबसरमा सांसद हेमकुमार राईले सगरमाथा क्षेत्रको सडक निर्माण सबैको साझा एजेण्डा बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै खुम्बु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले नेपाल प्रवेश गर्ने चीनको नाङ्पाला नाका खोल्न आवश्यक सहयोग गरिदिन प्रदेश सरकारलाई आग्रह गरे ।
उक्त नाका खोल्न सके खुम्बूको विकासमा थप मद्दत पुग्ने भन्दै उनले बन्द रहेको नाका तत्काल खोल्न पहल गरिदिन आग्रह गरेका हुन् ।