News

प्याब्सन वैधानिकतामाथि प्रश्न उठाउँदै गृह मन्त्रालयमा उजुरी

प्याब्सन वैधानिकतामाथि प्रश्न उठाउँदै गृह मन्त्रालयमा उजुरी

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को हालै सम्पन्न १४औँ महाअधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै गृह मन्त्रालयमा उजुरी परेको छ। महाधिवेशनका केही असन्तुष्ट उम्मेदवारले तत्कालीन अध्यक्ष विजय सम्वाहाम्फेविरुद्ध उजुरी दिएका हुन्।

 

नेतृत्व तहले गरेको अवैध गतिविधि सार्वजनिक गर्दा आफूहरूमाथि कारबाही हुनसक्ने भएकाले उजुरीकर्ताले नाम लुकाएका छन्। तर प्याब्सनको चौधौ महाधिवेशनमा सचिवमा उम्मेदवारी दिएका रत्न महर्जन र उपाध्यक्षको उम्मेदवार चित्रा सुवेदीलगायत आधा दर्जनले उजुरी दिएको स्रोतको दाबी छ।

 

उजुरीमा वैधानिक उम्मेदवारहरूको सहमतिविनै अन्तिम घडीमा संगठनको विधानमा समेत व्यवस्था नभएको सहअध्यक्ष लगायत अन्य पद संख्या थपी मनोनयन नै दाखिला नगरेका व्यक्तिहरूसहितको नामावलीलाई नयाँ कार्यसमितिको नाममा घोषणा गरिएको आरोप लगाइएको छ।

 

उजुरीकर्ताले अधिकार सम्पन्न निर्वाचन समितिको असहमतिका बाबजुद मनोमानी ढंगले पेश गरिएको नयाँ कार्यासमितिको कुनै वैधानिक आधार नदेखिएकोले अधिकार सम्पन्न निर्वाचन समितिबाटै यथासिघ्र निर्वाचन गराउन प्रचलित ऐन कानुनबमोजिम आदेश निर्देशन जारी गर्न माग गरिएको छ। मन्त्रालयले कानुन र शान्ति सुरक्षा महाशाखाबाट अनुसन्धान सुरु गरेको स्रोतको भनाइ छ।

 

उजुरीकर्ताहरूले यही चैत्र १२ गते निर्वाचन प्रकृया, उम्मेदवारको अन्तिम नामावली, निर्वाचन समितिका प्रमुखसहित निर्वाचन समिति गठन गरिएको पत्र, उम्मेदवारी मनोनयनपत्र र निर्वाचन समितिले गरेको निर्णय लगायतको पत्र संलग्न गरी मन्त्रालयमा उजुरी दर्ता गराएका थिए। यो नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो।

प्याब्सन

विशेष