News

वाइडबडी जहाज प्रकरणमा २१ जनासँग बयान

विदेशी कम्पनीलाई १५ दिनमा उपस्थित हुन निर्देशन

वाइडबडी जहाज प्रकरणमा २१ जनासँग बयान

काठमाडौं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज प्रकरणमा २१ जनासँग बयान लिएको छ।

 

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले उठाएका प्रश्नको उत्तर दिँदै अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले वाइबडीका सम्बन्धमा धमाधाम बयान लिने काम भइरहेको जानकारी दिए। ‘नेपाल वायुसेवा निगमका पदाधिकारी र सदस्यसहित २१ जनासँग बयान सकिएको छ’, उनले भने, ‘वाइडबडी जहाज प्रकरणमा जोडिएका पाँच विदेशी कम्पनीलाई बयानका लागि बोलाइएको छ।’

 

अख्तियारले सार्वजनिक सूचना जारी गरी आयरल्यान्ड डब्लिनको हाई फ्लाई एक्स लिमिटेड, अमेरिकाको एएआर इन्टरनेसनल, जर्मनीको जर्मन एभिएसन क्यापिटल, पोर्चुगलको हाई फ्लाई एरोज पोर्चुगल र जर्मनीकै नटर्न रोज फुलब्राइटलाई बयानका लागि बोलाएको छ। उनीहरूलाई १५ दिनभित्र उपस्थित हुन निर्देशन गरिएको प्रमुख आयुक्त घिमिरेले जानकारी दिए।

 

अख्तियारले भ्रष्टाचार निवारण ऐनअनुसार नेपालभित्र ठेगाना पत्ता नलागेको वा सूचना बुझाउन नसकेको व्यक्तिलाई ३० दिनको म्याद दिई दुई पटक सार्वजनिक सूचना जारी गर्नुपर्ने उल्लेख छ । ‘यो सूचना पालना नगर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही हुनेछ,’ सार्वजनिक सूचनामा उल्लेख छ। वाइडबडी खरिदमा ४ अर्ब ३५ करोड रुपैयाँ ‘अनियमितता’ भएको संसद्को सार्वजनिक लेखासमितिको निष्कर्ष थियो। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग वाइड बडी जहाज

विशेष