News Technology

अब ‘मोबाइल एप्स’ बाटै उपत्यकाका ट्राफिक बत्तीको नियन्त्रण

अब ‘मोबाइल एप्स’ बाटै उपत्यकाका ट्राफिक बत्तीको नियन्त्रण

ललितपुर । ललितपुर महानगरपालिकाले ‘मोबाइल एप्स’ बाटै ट्राफिक बत्तीको नियन्त्रण गर्ने प्रविधि शुरु गरेको छ। महानगरपालिकाले मंगलबारदेखि जावलाखेलको अल्का चोकमा यो प्रविधिको शुरुआत गरेको हो।

 

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ट्राफिक प्रहरी कुन्दनकुमार शाहलाई ‘एप्स’ प्रयोगका लागि मोबाइल सेट हस्तान्तरण गरे। यो प्रविधिअनुसार मोबाइल प्रयोग गरेर सवारीको चापअनुसार सडक बत्तीको नियन्त्रण गर्न सकिन्छ। सडकमा हुने सवारी साधनको चापअनुसार ट्राफिक प्रहरीले सडक बत्तीको नियन्त्रण मोबाइलबाटै गर्न सक्ने महानगरपालिकाले जनाएको छ।

 

अल्का अस्पताल चोकमा अहिले परीक्षणका रुपमा मात्रै प्रविधिको शुरुआत भएको नगरप्रमुख चिरीबाबु महर्जनले बताए। उनका अनुसार यसअघि ललितपुर महानगरपालिकाले छ जना ट्राफिक प्रहरीलाई यो प्रविधिको प्रयोगसम्बन्धी तालीमसमेत दिएको थियो। यो प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापनमा धेरै सहजता ल्याउने उनले बताए। आगामी दिनमा प्रविधि विस्तार गर्ने महानगरको योजना रहेको छ। उनले भने, ‘यो परीक्षण सफल भएमा अरू २० स्थानमा समेत प्रविधि विस्तार गर्ने योजना छ।’

 

अल्का चोकमा उग्रचण्डी मन्दिरबाट आउने सडकमा सेन्सर बिछ्याइएको महानगरले जनाएको छ। त्यो ‘सेन्टर’ मा गाडीको चक्का पर्नासाथ बत्ती बल्ने र सोहीअनुसार ट्राफिकले मोबाइलबाटै व्यवस्थापन गर्ने महानगरले जनाएको छ।

ट्राफिक लाइट

विशेष