स्वास्थ्य News मुख्य समाचार समाज

हिमाली बालबालिकामा कुपोषण

हिमाली बालबालिकामा कुपोषण

यी हुन् माइला लामा । उनको यही नामले गाउँभरि नै ख्याती पाएको छ । केही वर्षसम्म हट्टाकट्टा यिनी केही वर्ष भो थलिएको । यिनलाई के भएको हो ? गाउँलेहरू धेरै समयसम्म अलमलमा थिए ।

केही समयअघि गाउँमा स्वास्थ्य शिविर पुग्यो । डाक्टरहरूले ठम्याए– 'कुपोषण' । उचित खानपानको अभावमा माइलाजस्तै अरू बालबालिका पनि पीडित छन् । केर्साङ हुन् या पासाङ, राममाया हुन या उजेली सबैको हालत उस्तैउस्तै छ । डाक्टरले रोग त पत्ता लगाए । तर, त्यो रोगको दीर्घकालीन समाधान कोहीसँग छैन् । उनीहरूको रोगको ओखती भनेको हातमुख जोर्ने समस्याको समाधान हो । जन्मसिद्ध बालअधिकारबाट बञ्चित यिनीहरूको पक्षमा बोल्ने कोही पनि छैन् । 

शहरमा बालअधिकारका विषयमा बाक्लै बहस भइरहेका बेला गोरखाको हिमाली क्षेत्र नुब्रीका बालबालिकामा भने खानपानको अभाव देखिएको छ । गोरखा सदरमुकामबाट हिँडेर सात दिनमा पुगिने उक्त क्षेत्रका बालबालिका उचित शिक्षा, स्वास्थ्यबाट पनि बञ्चित छन् । उच्च हिमाली भेगमा पर्ने भएकाले यस ठाउँमा कुनै किसिमको अन्नबाली फल्दैन ।

पर्यटकीय दृष्टिले महत्वपूर्ण भए पनि प्रचारप्रसारको अभावमा त्यसबाट पनि कुनै उपलब्धि हात लाग्न नसक्दा त्यहाँका बासिन्दा स्वआर्जनबाट बञ्चित छन् । अभिभावक नै गरिबी र अभावको भुँवरीमा पिल्सिएपछि सन्तानले उचित, शिक्षा दीक्षा पाउन नसक्नु स्वाभाविकै हो ।

नुब्रीमा केही सरकारी कार्यालय त छन तर ती कार्यालय नै सरकारसँग सम्बन्ध विच्छेदजस्तो अवस्थामा रहेका छन् । न यहाँ सरकारी कोटाको खाद्यान्न पुग्छ, न मल बीउ नै । अरू त अरू नागरिकतादेखि एउटा सामान्य सरकारी कामका लागि समेत एकहप्ता हिँडेर सदरमुकाम धाउन यहाँका बासिन्दा बाध्य छन् । सुविधा सम्पन्न ठाउँमा गैरसरकारी संघसंस्थाहरु छरपस्ट रहे पनि यहाँ भने कुनै त्यस्ता गैरसरकारी संस्थाको पहुँच देखिदैन ।

भूगोल र दुर्गमका नाममा यी कलिला बालबालिका मुनामै ओइल्याउनु दुःखद् पक्ष हो । त्यसैले कुनै दुर्भाग्यपूर्ण घटना हुनुअघि नै सरोकारवालाहरु यसतर्फ चनाखो हुन जरुरी छ ।


यी सबै सामग्रीहरू पब्लिक न्युज एजेन्सी (www.publicnewsagency.com)बाट साभार गरिएको हो। तपाईंहरूले पनि आफूलाई आवश्यक पर्ने सामग्रीहरू पब्लिक न्युज एजेन्सीमा निःशुल्क खाता खोलेर साभार गर्न सक्नुहुने छ। साथै पब्लिक न्युज एजेन्सीका लागि समाचार सामग्री र विभिन्न संघसंस्थाका प्रेस विज्ञप्ति पनि सम्प्रेषण गर्न सक्नुहुने छ।

कुपोषण

विशेष