सिएनएन हिरो पुष्पा बस्नेतको पुस्तक विमोचित (भिडियो सहित)
काठमाडौँ — 'सिएनएन हिरो' पुष्पा बस्नेतको जीवन कथा समेटिएको पुस्तक 'पुतलीको घर' शुक्रबार विमोचन गरिएको छ । पुस्तकको पुष्पाकी आमा सरिता बस्नेत, पत्रकार विजयकुमार पाण्डे, लेखक घनश्याम खड्का र प्रकाशक विमल खड्काले विमोचन गरे ।
पुष्पा बस्नेतले यो पुस्तक बालबालिका र अभिभावक दुवैको लागि उत्तिकै महत्वपूर्ण रहेको बताइन्। 'यो किताब हरेक बाबुआमाले छोराछोरीलाई दिनुपर्छ, हरेक छोराछोरीले बाबुआमालाई दिनुपर्छ' उनले भनिन्, 'बाबुआमाले छोराछोरीको मनोभावना बुझेर व्यवहार गर्न मद्दत पुग्छ।' अभिभावक र बालबच्चाले एकअर्काको चाहना बुझ्न, उनले पुतलीको घर सञ्चालन गर्न विभिन्न उल्झनहरु आउने गरेपनि त्यो भन्दा धेरै रमाइलो भइरहेको बताए।
पाण्डेले पुष्पाको जीवनबाट आफूले धेरै कुरा सिकेको बताए। पुस्तकले पुष्पा बस्नेतको जीवन बुझ्न मद्दत गर्ने उनको भनाइ छ। 'किताब लेखेकोमा एकदम राम्रो' पाण्डले भने, 'यो किताब नलेखिएको भए पनि, सिएनएनले अवार्ड नगरेको भए पनि पुष्पा बस्नेत त्यही गरिरहेकी हुन्थिन् जो आज गरिरहेकी छन्। यसबाट युवापुस्ताले प्रेरणा लिन सक्छ, यसको योगदान यही हो।'
लेखक खड्काले पुस्तक लेखनको अनुभव साटेका थिए। पुष्पाले हृदयबाट व्यवहार गर्ने गरेको उनले बताए।
प्रकाशक खड्काले बस्नेतको 'पुतलीको घर' पुस्तकले सत्कर्म गर्न प्रेरणा दिने दाबी गरे। एउटी युवतीले पाएको असफलता र त्यहाँबाट उम्कन उनको हृदयले तय गरेको बाटोको उत्प्रेरणादायी कथा पुस्तकमा समेटिएको उनले बताए।
पत्रकार तथा लेखक खड्काले पुष्पासँग गरेको लामो अन्तर्वार्ता र उनका अनुभवहरुलाई प्रथम शैलीमा लेखिएको यो किताब अल्केमी पब्लिकेसन्सले बजारमा ल्याएको हो। पुस्तकको विमोचनपछि यसको बारेमा प्यानल डिस्कसन भएको थियो। प्यानल डिस्कसनमा सिएनएन हिरो बस्नेत, लेखक खड्का, प्रकाशक खड्का, युवा नेतृ रञ्जु दर्शना, पुतलीको घरकी किशोरी लक्ष्मी तामाङले भाग लिएका थिए।
कसुरदार बाबुआमासँग जेलमा परेका निर्दोष बालबालिकालाई बाहिर ल्याएर पढाई लेखाई सक्षम नागरिक बनाउने काममा लागेकी पुष्पाले आफ्नो जीवन नै तिनै नानीहरुको पढाइमा अर्पित गरेकी छन्। आफ्नो त्यही अद्वितीय प्रेम र करुणाका कारण लोकप्रिय हुन पुगेकी उनी सिएनएन हिरो र पछि सुपरहिरो समेत भएपछि संसारमाझ चिनिन् पुगेकी छन्।
पुस्तकमा पुष्पाले कसरी आफ्नो जीवनलाई अबोध बालबालिकाको उत्थानमा समर्पण गरिन् र त्यसो गर्दा के कस्ता बाधा अड्चनहरु आइपरे भन्ने मात्रै होइन, संसारमाझ चिनिएपछि त्यसले उनको र बालबालिकाको जीवनमा कस्तो फरक पार्यो भन्ने पाटो पनि समेटेको छ। जेलमा परेका बच्चाका लागि स्वतन्त्रताकी देवी बनेर चिनिनु अघि पुष्पाको जीवनको रोचक तथ्य पनि पुस्तकमा छ। अल्केमी प्रकाशनले पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रोयल्टी जेलमा रहेका बालबालिकाको हितमा प्रयोग गर्ने बताएको छ।