विदेश

एमेजन मालिक जेफ बेजोस सम्बन्धविच्छेदका लागि ३८ खर्ब तिर्न राजी

वासिंगटन । संसारकै धनी जेफ बेजोस र उनकी पत्नी मक्केन्जीबीच सम्बन्ध बिच्छेद प्रक्रिया पूरा भएको छ । बेजोस सम्बन्धविच्छेदका लागि ३५ बिलियन डलर अर्थात करिब ३८ खर्ब नेपाली रुपैयाँ बराबरको रकम तिर्न तयार भएपछि उनीहरुको सम्बन्धबिच्छेदको चार महिना लामो प्रक्रियाले पूर्णता पाएको हो ।

यो कुनै पनि जोडीले गरेको अहिलेसम्मकै सबैभन्दा महंगो सम्बन्धबिच्छेद हो । यसअघि कला व्यापारी एलेक विन्डेन्सटेन र उनकी पत्नी जोसलिनबीच भएको सम्बन्ध बिच्छेद ३.८ बिलियन डलरको थियो । जुन सबैभन्दा महंगो सम्बन्धबिच्छेद थियो ।

सम्बन्धबिच्छेदपछि पनि मक्केन्जीसँग बेजोसको एमेजन कम्पनीमा चार प्रतिशत शेयर रहनेछ । केही महिनाअघि जेफ र मक्केन्जी आफ्नो २५ वर्ष लामो वैवाहिक जीवन अन्त्य गर्न सहमत भएका थिए ।

मक्केन्जीले ट्विट गर्दैै यो सहमति सार्वजनिक गरेकी छन् । जसमा उनले लेखेकी छन्, ‘एकअर्काको सहायतामा जेफसँगको विवाहलाई अन्त्य गर्ने प्रक्रिया सकिएकोमा कृतज्ञ छु ।’

 

जेफ बेजोससँग एमेजनको १६.३ प्रतिशत शेयर छ । जसको ७५ प्रतिशत अब उनीसँग रहनेछ । मक्केन्जीले आफ्नो सेयरको मताधिकार पूर्वपतिलाई नै दिएकी छन् ।

सन् १९९४ मा जेफले एमेजन स्थापना गर्नु अगाडि नै उनीहरूले विवाह गरेका हुन् र माक्केन्जी एमेजनको पहिलो कामदारहरूमध्येकी थिइन् । अमेरिकी सेयर बजारका एमेजनको कुल मूल्य ७ सय ९७ अर्ब डलर पुगेको छ ।

जेफ सफल ब्यापारी हुन् भने मक्केन्जी एक सफल लेखिका हुन् । मक्केन्जी सन् २००५ मा ‘द टेस्टिङ अफ लुथर अल्ब्राइट’ र सन् २०१३ मा ‘ट्र्याप्स’ नामक उपन्यास लेखेकी छन् ।

पुलिट्जर पुरस्कार प्राप्त गरेकी लेखिका टोनी मोरिसनबाट सिर्जनात्मक लेखनको पढाइ पूरा गरेकी मक्केन्जीलाई मोरिसनले आफ्नो उत्कृष्टमध्येकी विद्यार्थी रहेको बताएकी थिइन् ।

जेफ पछिल्लो समयमा फक्स टीभीकी एक सञ्चालिका लरेन सान्चेजसँग प्रेममा रहेको अमेरिकी सञ्चारमाध्यले समाचार प्रकाशन गरेका छन् । सो समाचार बाहिर आएपछि जनवरीमा संयुक्त विज्ञप्ति जारी गर्दै जेफ र मक्केन्जीले सम्बन्ध बिच्छेद गर्न लागेको जानकारी गराएका थिए ।

जेफ बेजोस सम्बन्धविच्छेद

विशेष