विदेश

भेनेजुएलामा सत्ता पक्ष र विपक्षले आज सँगसँगै कार्यक्रम गर्ने

भेनेजुएलामा सत्ता पक्ष र विपक्षले आज सँगसँगै कार्यक्रम गर्ने

एजेन्सी । भेनेजुएलाको सत्तारुढ दल र विपक्षी दलले शनिबार राजधानी काराकसमा छुट्टाछुट्टै स्थानमा कार्यक्रम गरी आ–आफ्ना तर्फबाट शक्ति प्रदर्शन गर्ने भएका छन्। सत्तारुढ दल युनाइटेड सोसलिष्ट पार्टी अफ भेनेजुएला (पीएसयुभी) र विपक्षी दलले राजधानीमा आफ्ना समर्थकहरूसहितको कार्यक्रमका लागि बिहीबार आह्वान गरेका हुन्।

 

'यही शनिवार अप्रिल ६ तारिखका दिन हामी सवै जना स्थानीय समय अनुसार बिहान नौ बजे राजधानीको मुख्य ठाउँमा भेला हुन लागेका छौँ,' सत्तारुढ दलको कार्यक्रम तथा जनपरिचालन उपाध्यक्ष डारिओ भिभासले भने। राज्यद्वारा सञ्चालित भि टिभीलाई टेलिफोनमा उनले दिएको जानकारीअनुसार सरकार समर्थकहरुले सरकारको पक्षमा नारा लगाउदै राष्ट्रपति कार्यालय अगाडिसम्म र्‍याली निकाल्ने भएका छन्।

 

शनिबार नै प्रतिवन्धित विपक्षी दलले पनि देशब्यापी प्रदर्शनको आयोजना गरेको छ। सत्तारुढ दललाई सत्ताबाट हटाउनु पर्ने माग गर्दै सो पार्टीले प्रदर्शन गर्न लागेको अधिकारीहरूले बताएका छन्।

 

'अप्रिल ६ तारिखका दिन हामीले परिवर्तनको एजेण्डालाई उठाउदै देशभरी प्रदर्शनको तयारी गरेका छौँ,' विपक्षी नेता जुआन गुएइदोले भने। गुआइदोले गत जनवरीमा आफूलाई राष्ट्रपति घोषणा गरेका थिए। विपक्षी दलको बहुमत रहेको राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गुएइदोले काराकसमा संघीय संसदीय दरबार बनाउने घोषणा पनि गरे।

 

'शनिबार हामीले कडा दवाव दिने छौँ, हाम्रो प्रदर्शन पूर्ण रुपमा शान्तिपूर्ण नै हुनेछ, रणनीतिक र व्यवस्थित तरिकाले हामीले सडकमा प्रदर्शन गर्नेछौँ,' उनले ट्वीट गरेका छन्। सत्तापक्ष र विपक्ष दुवैले शनिबारको प्रदर्शनलाई आफ्नो शक्ति प्रदर्शनको रुपमा लिएका छन्।

भेनेजुएला

विशेष