विदेश

आफू र आफ्ना साथीहरूका लागि ननाचेको भन्दै श्रीमातीको कपाल खौरिदिने श्रीमान् पुगे जेल

आफू र आफ्ना साथीहरूका लागि ननाचेको भन्दै श्रीमातीको कपाल खौरिदिने श्रीमान् पुगे जेल

एजेन्सी । पाकिस्तानकी एक महिलाले आफ्ना पतिले उनी र उनका साथीसँग नृत्य गर्न नमानेको भनेर कुटपिट गर्नुका साथै कपाल खौरिदिएको आरोप लगाएकी छन् । यो घटनाले गर्दा पाकिस्तानमा महिलाको सुरक्षाका बारेमा चासो उत्पन्न भएको छ ।

 

आस्मा अजिज नामकी ती महिलाको भिडियो हालै सार्वजनिक भएपछि भाइरल भएको थियो । उनका पति मियान फैजल र घरेलु कामदार दुवै अहिले प्रहरी हिरासतमा छन् । पति फैजलले आफूले यातना दिएको भन्ने कुरा अस्वीकार गरेका छन् ।

 

यो घटनाले गर्दा पाकिस्तानमा महिलामाथि हुने घरेलु हिंसा रोक्नका लागि धेरै काम गर्न बाँकी रहेको अवस्था देखिएको अधिकारकर्मीहरुले जनाएका छन् । सो घटनाका बारेमा एम्नेस्टी इन्टरनेशनलले ट्विट गर्दै पाकिस्तानमा  प्रणालीगत परिवर्तनको आवश्यकता रहेको जनाएको छ । २६ मार्चका दिन उनको भिडियो सार्वजनिक भएको हो ।

 

त्यो भन्दा दुई दिन अघि लाहोरमा उनका पतिले साथीकै अगाडि पत्नीको कपाल खौरिदिएका थिए । ‘‘उनले घरेलु कामदारकै अगाडि मेरो लुगा फुकालिदिए । घरेलु कामदारलाई मलाई पक्रन लगाए र उनले कपाल खौरेर त्यो कपाल जलाइदिए’ । मेरो कपडामा रगत लागेको थियो । उनले मलाई लुगा खोलेर पंखामा झुण्ड्याउने धम्की समेत दिएका थिए’’ अजीजले भनेकी छन् ।

 

आफू सो सम्बन्धी उजुरी दर्ता गर्न प्रहरीकोमा गएको भए पनि प्रहरीले आफूले लगाएको आरोप अस्वीकार गरेको उनले बताएकी छन् ।  उनी केही मानिसहरु लिएर पछि प्रहरी कार्यालयमा जाँदा ढोका लगाएको पाइएको र आफूहरुलाई भित्र छिर्न नदिइएको उनले जनाएकी छन् ।

 

भिडियो सार्वजनिक भएपछि आन्तरिक मामिला सम्बन्धी उपमन्त्री शेहेरयार अफ्रिदीले प्रहरीलाई उजुरी दर्ता गर्न निर्देशन दिएका थिए । सोही अनुसार अहिले पति र उनका घरेलु कामदारलाई प्रहरीले पक्राउ गरेको छ । स्वास्थ्य परीक्षणका क्रममा अजीजको शरीरका विभिन्न भागमा थुप्रै चोटहरु फेला परेका छन् । फैजलले प्रहरीलाई दिएको बयानमा भने उनकी पत्नीले लागू औषध सेवन गरेर आफैले कपाल काटेको आरोप लगाएको बीबीसीले जनाएको छ ।

जेल पाकिस्तान

विशेष