जर्मनले नेपालमा उर्जासम्बन्धी १६ दिने प्रदर्शनी गर्ने
काठमाडौैं । काठमाडौंस्थित जर्मन दूतावासले उर्जासम्बन्धी १६ दिने प्रदर्शनी गर्ने भएको छ । ‘जर्मनी उर्जा रुपान्तरण : जर्मनीको उर्जा प्रणालीमा परिवर्तन’ नाम गरेको उक्त प्रदर्शनी आगमि अप्रिल १२ देखि अप्रिल २६ सम्म ललितपूरस्थित पूलचोक क्याम्पसमा हुनेछ ।
जर्मन राजदूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा राजदूत रोनाल्ड साफरले नेपालमा पनि जलविद्युत र सौर्य उर्जा लगायतका क्षेत्रमा नवीकरणीय उर्जाको व्यापक सम्भावना रहेको बताएका थिए । सन् २०५० सम्म कार्बन न्यूट्रालिटीको उद्देश्यको अभियानमा जर्मनी नेतृत्वदायी भूमिकामा रहेको जानकारी पनि उनले गराए ।
यस्ता प्रकारका उर्जा प्रदर्शनी जर्मनले ३० भन्दा बढी मुलुकमा सफलतापूर्वक सम्पन्न गरिसकेको छ । अप्रिल १२ बाट आयोजना हुने उर्जा प्रदर्शनीमा जर्मनको अर्थतन्त्रमा नवीकरणीय उर्जाले ल्याएका परिवर्तन र वृद्धिबारे छलफल हुनेछ । प्रदर्शनीमा नेपाल र जर्मन नागरिकबीचको ६० वर्ष पुरानो मित्रतालाई पनि फोटो कथामार्फत देखाइने विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा उल्लेख गरिएअनुसार, नेपालका धेरै गाउँपालिका र शहरमा नवीकरणीय उर्जालाई बढावा दिन जर्मनले ‘जीआईजेड’ कार्यक्रममार्फत अल्टरनेटिभ एनर्जी प्रोमोशन सेन्टर (एईपिसी) लाई सहयोग गर्दै आएको छ ।