अर्घाखाँचीमा जीप दुर्घटना ४ जनाको मृत्युः दर्जन बढी घाईते
सन्धिखर्क । अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने दर्जन बढी घाईते भएका छन् ।
अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कबाट प्युठान ऐरावतीको बरौला गाउँतर्फ जाँदै गरेको लु १ ज १२२९ नम्बरको जिप भूमिकास्थान नगरपालिका ८ नुवाकोटमा दुर्घटना भएको हो ।
दुर्घटना परी प्युठान ऐरावती गाउँपालिका २ का ५२ वर्षीय धनबहादुर राना, १४ वर्षीया मनीका आचार्य, सन्धिखर्क नगरपालिका डिर्भनाका ३ वर्षका प्रिन्स श्रेष्ठ र उनकी आमा ३० वर्षकी बिष्णुमायाँ श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
घटनास्थलमा २ जना सहित सन्धिखर्क र बुट्वल अस्पतालमा १/१ जना गरी ४ जनाको मृत्यु भएको प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानकारी दिएका छन् ।
जम्मा १४ सिट क्षमताको जिपमा चालक सहित १८ बढी यात्रु सवार रहेको र बढि लोड भएकै कारण जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि अन्य १४ जना घाईते भएका छन् । उनीहरुको सन्धिखर्क र बुट्वल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि भैरहवा रिफर गरिएको छ ।
सोमबार दिउँसो २ बजे जीप उकालो चढ्नेक्रममा ब्रेक फेल भएर सडकबाट एक सय मिटर तल खसेको थियो ।
अर्घाखाँची