भ्रष्टाचार आरोप लागेका ब्राजिलका पूर्वराष्ट्रपतिले गरे आत्मसमर्पण
बीबीसी । भ्रष्टाचार सहितका अभियोग लागेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमेअरले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । प्रहरीले उनलाई साओ पाउलोस्थित संघीय प्रहरीको हिरासतमा राखेको छ । पूर्व राष्ट्रपति मिसेल टेमेअर गत मार्च महिनामा पनि चार दिन हिरासतमा राखिएका थिए । तर उनले हालेको बन्दी प्रत्यक्षीकरण रिट जारी भएपछि उनी हिरासत मुक्त भएका हुन् । बुधवार एउटा अदालतले उनलाई पुनः जेल चलान गर्न आदेश दिएको थियो ।
उक्त न्यायिक आदेशको पालना गर्दै पूर्व राष्ट्रपति टेमेअरले स्वेच्छिक रूपमा आफूलाई अधिकारीहरू समक्ष प्रस्तुत गरेका हुन् । उनको कार्यकाल गत वर्षको अन्त्यमा सकिएको थियो । उनीविरूद्ध भ्रष्टाचार गरेको, घुस लिएको र आपराधिक संगठनको नेतृत्व गरेको जस्ता कैयौँ अभियोग सहित छवटा दण्डनीय मुद्दा छन् । आफूमाथि लागेका सबै आरोपहरू अस्वीकार गर्दै आएका पूर्व राष्ट्रपति टेमेअरले अदालतको आदेश खेदजनक भएको टिप्पणी गरेका छन् । त्यस निर्णयविरूद्ध माथिल्लो अदालतमा जाने उनको भनाइ छ । भ्रस्टाचारको अनुसन्धानका क्रममा लुला दा सिल्भापछि गिरफ्तार हुने उनी ब्राजिलका दोस्रा पूर्व राष्ट्रपति हुन् ।
भ्रष्टाचार ब्राजिल मिसेल टेमेअर