News

दुई सेट रेल खरिद गर्न भारतीय कम्पनीसँग सम्झौता

दुई सेट रेल खरिद गर्न भारतीय कम्पनीसँग सम्झौता

काठमाडौं । नेपालले दुई सेट रेल खरिद गर्न रेल विभाग र भारतको सरकारी कम्पनी कोंकण रेलवेज कर्पोरेशन लिमिटेडबीच सम्झौता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार नेपाल र भारतका उच्च सरकारी अधिकारीहरुको उपस्थितिमा खरिद सम्झौता भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीका अनुसार सम्झौतामा २ सेटमध्ये पहिलो सेट ३ महिनाभित्र उपलब्ध गराउने भनिएको छ । ‘सम्झौता भइसकेपछि उक्त कम्पनीले अग्रिम बैंक ग्यारेन्टी राख्नु पर्ने हुन्छ, त्यसपछि हामीले अग्रिम भुक्तानी स्वरुप पेश्की दिनु पर्ने हुन्छ’ सचिव अधिकारीले भने । पेश्की दिएको मितिबाट १ सय २० दिनभित्र रेलको सेट ल्याउनुपर्ने सम्झौता भएको छ । दोस्रो सेट रेल खरिदका लागि पेश्की रकम दिएको १ सय २० दिनमा उपलब्ध गराउनु पर्ने हुन्छ । 


विभागका सिनियर डिभिजनल इन्जिनियर एवं प्रवक्ता अमन चित्रकारका अनुसार जनकपुर–जयनगर खण्डमा रेल सञ्चालनका लागि सेट खरिदको सम्झौता भएको हो । ‘हामीले लिन खोजेको डेमो ट्रेन सेट हो, यसलाई डिजेल इलेक्ट्रिक मल्टिपल युनिट भन्छ’ उनले भने, ‘जुन जयनगर–जनकपुरका लागि हो ।’ उनका अनुसार पहिलो सेट ३ देखि ४ महिना भित्रमा आउने छ । दोस्रो सेटका लागि भने केही समय लाग्ने छ । रेलको एक सेटमा पाँच वटा डिब्बा रहने छ । ति डिब्बामा एकपटकमा करिब १३ सय यात्रु अटाउने छन् । सरकारले रेलको सेट खरिदका लागि गत चैत्रमा विभागलाई स्विकृत दिएको थियो । मन्त्रिपरिषद्‌ले निर्णय गरी ८४ करोड ६५ लाख खर्चिएर खरिद गर्न सरकारले स्विकृत दिएको हो ।

 

भारतको जयनगरबाट कुर्तासम्म ३४ किलोमिटर छ । पहिलो सेट यही सञ्चालनमा आउने छ । कुर्तासम्म रेलको लिकलाई ब्रोडगेजमा स्तरोन्नती गरी सकिएको विभागले जनाएको छ । यो वर्ष कुर्तासम्म रेल सञ्चालन हुने छ । जहाँ भौतिक निर्माणको काम सकिसकेको छ । अर्को वर्ष कुर्ताबाट १७ किमि दूरीमा रहेको बिजलपुरासम्म रेल चल्ने सचिव अधिकारीले बताए । अहिले विजलपुरामा जग्गा प्राप्तिको काम सकिसकेको छ ।  यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

सम्झौता रेल भारतीय कम्पनी

विशेष