क्याम्पसको जग खन्ने क्रममा सुनचाँदी फेला
अछाम । क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमिनमुनिबाट सुनचाँदी फेला परेको साँफेबगर नगरपालिका–२ श्रीकोटमा थप सुनचाँदी भेटिएको छ । यसअघि भवनको जग खन्ने क्रममा यही वैशाख २० गते १९ तोला ८९ लाल सुन र १३२ तोला ७३ लाल चाँदी फेला परेकामा शुक्रबार थप २५ तोला सुन र ३० तोला चाँदी फेला परेको हो ।
भवनको जग खन्ने क्रममा सुन भेटाएका मजदूरमा भागबण्डा नमिलेपछि कुरा बाहिर आएको थियो भने उनीहरूको साथमा रहेको सुन प्रहरीको संरक्षणमा राखिएको छ । सात मजदुरलाई नियन्त्रणमा लिएर थप सोधखोज गर्दा पछिल्ला दिनहरूमा थप सुन फेला पर्दै गएको थियो ।
क्याम्पस भवन निर्माणस्थललाई प्रहरीले निगरानीमा राखेर जमिनमुनि अझै पनि जमीनमुनि सुन रहेको आशङ्कामा माटो चाल्ने क्रममा थप सुन फेला परेको वडा नं २ का अध्यक्ष कालु सिंह कुँवरले जानकारी दिए । जमिनमुनिबाट हालसम्म १०५ तोला सुन र ४०० तोला चाँदी फेला परेको वडाध्यक्ष कुँवरले जानकारी दिए ।