News

ठूलो संख्यामा कर्मचारी माग गर्दै लोकसेवा, जेठको दोस्रो साता विज्ञापन

ठूलो संख्यामा कर्मचारी माग गर्दै लोकसेवा, जेठको दोस्रो साता विज्ञापन

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी भर्नाको विज्ञापन गर्ने तयारी थालेको छ । लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रशासनलगायतका विभिन्न सेवा समूहका पदमा लोकसेवाले भर्नाको गृहकार्य थालेको हो । आयोगले जेठको दोस्रो सातासम्म विभिन्न तहमा विज्ञापन गर्ने गरी गृहकार्य अघि बढाइएको जनाएको छ । आयोगका अनुसार आगामी ६ महिनाभित्रै स्थानीय तहका विभिन्न पदमा हजारौं कर्मचारी सिफारिस नै गर्नेगरी आवश्यक गृहकार्य अघि बढाइएको हो । लोकसेवाले स्थानीय स्तरका तह ४ देखि ९ सम्मको पदमा विज्ञापन गर्ने तयारी गरेको छ ।

 

आयोगले स्थानीय तहका लागि श्रेणीगत नभएर तहगत पदमा विज्ञापन गर्ने गृहकार्य थालेको छ । कर्मचारी समायोजन गर्दा स्थानीय र प्रदेश स्तरमा तहगत पदको व्यवस्था गरिएकाले आयोगले सोहीअनुसार स्थानीय तहमा रिक्त रहेका विभिन्न तहमा भर्ना गर्ने प्रक्रिया अगाडि बढाएको हो । आयोगले हालको श्रेणीगत पदको पाठ्यक्रमलाई नै तहगत पदको लागि पनि मिल्ने गरी आवश्यक व्यवस्थापन गर्ने भएको छ । लोकसेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले सरकारबाट स्थानीय तहमा रिक्त पदमा पदपूर्तिको माग भई आएकाले त्यससम्बन्धी गृहकार्य अघि बढाइएको जानकारी दिए ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार लोकसेवालाई पत्र पठाउँदै ४३७ वटा स्थानीय तहमा ११ हजार ४९२ पदमा पदपूर्ति गर्ने व्यवस्था मिलाउन आग्रह गरेको थियो । मन्त्रालयले अझै केही स्थानीय तहबाट रिक्त पदको विवरण आउने क्रम रहेकाले केही पद थप गरेर पठाउन सकिने जानकारी आयोगलाई दिएको छ । सोहीअनुसार अयोगले थप भएका पदलाई समेत समेटेर विज्ञापन गर्ने तयारीमा जुटेको हो । यो समाचार आजको राजधानी दैनिकबाट लिइएकाे हाे ।

लोकसेवा आयोग कर्मचारी माग

विशेष