News

हावाहुरी र असिनाले साढे ५ करोडको क्षति

हावाहुरी र असिनाले साढे ५ करोडको क्षति

कास्की । कतै फलेर बिक्री सुरु भइसकेको त कतै फल्नका लागि फूल खेल्ने क्रममा रहेका तरकारी बाली । क्षणभरमा नै हावाहुरीसहितको असिनाले तरकारी बाली सखाप पारेपछि यतिखेर पोखराका कृषक चिन्तामा छन् । वैशाखमा बारम्बार आएको हावाहुरीसहितको असिनापानीले पोखराका विभिन्न १० स्थानमा पाँच करोड ४९ लाख ५० हजार रुपैयाँ बराबरको भौतिक संरचना एवं कृषकले लगाएको तरकारी बालीमा क्षति पुगेको छ । कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजन, सुपरजोन अन्तर्गत निर्माण गरिएका भौतिक संरचना भत्कनुका साथै कृषकले टनेल भित्र र बाहिर लगाएको तरकारी बाली नोक्सान हुँदा ठूलो क्षति पुगेको हो ।

 

स्थलगत गरेको अध्ययन प्रतिवेदनअनुसार पोखराका विभिन्न सात वडामा तरकारी बालीका लागि आर्थिक वर्ष २०७४–०७५ मा निर्माण गरिएका चार स्थानका हाइटेक, चार स्थानका अस्थायी प्लाष्टिक घरसहित भित्र र खुलारूपमा कृषकले लगाएको तरकारी बालीमा क्षति पुगेको सुपरजोन कार्यालय पोखराका प्रमुख वसन्त श्रेष्ठले जानकारी दिए । हावाहुरीसहितको असिनाले कृषकले व्यावसायिकरूपमा लगाएको काक्रो, घिरौला, लौका, साग, गाजर, काउली, मुला, बन्दा, साग, धनी, सिमी, गोलभेँडालगायतका मौसमी एवं बेमौसमी तरकारी एवं फलफुल खेती नोक्सान गरेको छ ।

 

उनका अनुसार कृषि तथा पशुपक्षी विकास मन्त्रालय, सिंहदरबार, कृषि विकास निर्देशनालय, मालेपाटन, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन एकाइ, खुमलटार एवं पोखरा महानगरपालिका वडा नं ५, १३, १४, १५, २६, ३२ र ३३ कार्यालयमा क्षतिपूर्तिका लागि कृषकको मागसहित जानकारी पठाइएको छ ।

कास्की तरकारी बाली

विशेष