News

फोटोकपीको भरमा करोडौँ पर्ने जग्गा व्यक्तिको नाममा पास

फोटोकपीको भरमा करोडौँ पर्ने जग्गा व्यक्तिको नाममा पास

काठमाडौं । अधिकांश सरकारी कार्यालयमा कुनै पनि कामकाज गर्दा सक्कल कागजातको प्रतिलिपि अनिवार्य गरिएको हुन्छ। तर, मालपोत कार्यालय डिल्लीबजारले भने फोटोकपीको भरमा करोडौँ पर्ने जग्गा व्यक्तिको नाममा पास गरेको पाइएको छ।

काठमाडौं महानगरपालिका–१० तीनकुनेमा रहेको कित्ता नं. १६ र २३२ को जग्गा फोटोकपीको भरमा पास गरिएको छ। यो जग्गा शैलजा भट्टको हो।  

काठमाडौंको तीनकुनेमा रहेको सो जग्गा ५ आना ३ दाम र १ आना २ पैसा ३ दाम क्षेत्रफल रहेको जग्गा अधिकृत वारेसनामाको फोटोकपी पेस गरेकै आधारमा मालपोत कार्यालय डिल्लीबजारले पटक–पटक थुप्रै व्यक्तिको नाममा पास गरेको पाइएको छ।

शैलजा भट्टको नाममा रहेको जग्गा ०७५ पुस २३ गते मालपोत कार्यालय डिल्लीबजारले अधिकृत वारेसनामाको फोटोकपीकै भरमा मीनबहादुर तामाङ, वीरबहादुर तामाङ, जितेन्द्र विष्ट र सञ्जित थपलियाको नाममा पास गरिदिएको पाइएको हो।

जिल्ला अदालत काठमाडौंले मालपोत कार्यालय डिल्लीबजारलाई उक्त जग्गा सक्कल अधिकृत वारेसनामाबाट पास गरिएको हो या होइन भनी ०७५ पुस २३ गते पत्र पठाएको थियो। तर, मालपोत कार्यालयले ०७५ फागुन १३ गते उक्त जग्गाको कागजात माग भएकोमा सक्कल अधिकृत वारेसनामा नभएको र सम्मानित अदालतले माग गरेको कागजात फोटोकपीको प्रमाणित प्रतिलिपि मात्रै रहेको जानकारी गराएको थियो।

सो जग्गाको अधिकृत वारेसनामा लिने व्यक्ति हुन् नुवाकोटका स्थायी बासिन्दा कपिल तिमिल्सिना। तर, तिमिल्सिनाले सो अधिकृत वारेसनामा बदर भएपछि सो जग्गा पास गरिदिएको भनी जिल्ला अदालतमा मुद्दा परेपछि मात्रै मालपोत कार्यालयले गरेको केही व्यक्तिसँगको मिलेमतोमा अवैध प्रक्रियाबाट जग्गा पास गरेको खुलासा भएको हो। यो खबर आजको नेपाल समाचार पत्र दैनिकबाट लिइएको हो।

मालपोत कार्यालय फोटोकपी

विशेष