News

ललितानिवास प्रकरणः जग्गा धितोमा राखेर भूमाफियाले सवा दुई अर्ब कर्जा लिएको खुलासा

ललितानिवास प्रकरणः जग्गा धितोमा राखेर भूमाफियाले सवा दुई अर्ब कर्जा लिएको खुलासा

काठमाडौं । बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा धितो राखेर भूमाफियाले विभिन्न १५ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको पाइएको छ। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, भूमाफिया किटान गरिएका डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा उनीहरूका परिवार र आधा दर्जन व्यापारिक घरानाले ललितानिवासको सरकारी जग्गा धितो राखेर १५ बैंक तथा वित्तीय संस्थाबाट दुई अर्ब ३० करोड रुपैयाँभन्दा बढी कर्जा लिएको तथ्य खुलेको हो।

 

२०६३ देखि २०७३ सालसम्मको अवधिमा उनीहरूले सरकारी जग्गा धितो राखेर कर्जा लिएको स्रोतले जानकारी दियो । नागरिकलाई प्राप्त विवरणअनुसार भूमाफिया र व्यापारीले नेपाल बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, कैलाश विकास बैंक, लक्ष्मी बैंक, हिमालयन बैंक, युनिक फाइनान्स, बैंक अफ एसिया, नेपाल डेभलपमेन्ट एन्ड इम्प्लोइमेन्ट कमर्सियल प्रमोसन बैंक, आर्यतारा बचत तथा सहकारी संस्था, काष्ठमण्डप डेभलपमेन्ट बैंक, प्राइम कमर्सियल बैंक, किस्ट बैंक, यती डेभलपमेन्ट बैंक र आइएमई फाइनान्सियल इन्टिच्युसनबाट सो कर्जा लिएको देखिन्छ ।

 

यसमध्ये पछिल्लोपटक यती र महालक्ष्मी मर्ज भएर महालक्ष्मी विकास बैंक भइसकेको छ । त्यस्तै आइएमई फाइनान्स र ग्लोबल बैंक मर्ज भएर ग्लोबल आइएमई बैंक बनिसकेको छ । यी बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा भूमाफियाले अन्यत्र जग्गा खरिदमै लगानी गरेको अनुसन्धानमा संलग्न स्रोतको भनाइ छ । ‘ललितानिवासका तत्कालीन भोगाधिकारीबाट आफ्नो नाममा जग्गा ल्याएपछि गुरुङ, ढकाल र सुवेदी तथा अन्य व्यापारीले सेटिङमै करिब डेढ दर्जन बैंकबाट दुई अर्ब ३० करोड रुपैयाँ कर्जा लिएका रहेछन्,’ स्रोतले भन्यो, ‘उक्त कर्जा व्यक्तिगत तथा सामूहिक रूपमा जग्गा खरिदमै लगानी गरेको पनि देखियो।’ ललितानिवासको जग्गा हिनामिना गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरिरहेका छन्। उनीहरूमाथि ठगी, किर्ते–जालसाझी र संगठित अपराध कसुरमा छानबिन भइरहेको छ। यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

ललितानिवास जग्गा धितो

विशेष