विमानको अगाडिको चक्का नखुलेपछि यसरी भयो म्यानमारमा अवतरण
बिबिसी । म्यानमारमा अगाडिको चक्का नखुलेकै अवस्थामा विमानचालकले एउटा यात्रुवाहक जेट विमान सुरक्षित रूपमा अवतरण गराएका छन्।
म्यानमार न्याश्नल एअरलाइन्सको उक्त विमान म्यान्डले विमानस्थलको धावनमार्गमा रोकिनुअघि चिप्लिएको थियो।
इम्ब्राअर १९० मोडलको उक्त विमानमा ८९ यात्रु सवार थिए।
विमानलाई कुशलतापूर्वक अवतरण गराएकोमा विमानचालकको प्रशंसा गरिएको छ।
म्यानमार न्याश्नल एअरलाइन्सका अनुसार विमान अवतरण गर्नुअघि एअर ट्राफिक कन्ट्रोलरहरूले विमानको चक्का खुले-नखुलेको ठम्याउन सकून् भनेर क्याप्टेन म्यान मो अङले विमानस्थलमाथि विमानलाई दुई फन्को घुमाएका थिए।
कसरी अवतरण गरियो?
याङ्गुनबाट म्यान्डलेका लागि उडेको उक्त विमानमा अवतरणको बेला त्यस्तो समस्या देखिएको थियो।
"विमानचालकले आपत्कालीन प्रक्रिया पूरा गरेका थिए। उनले विमानको तौल घटाउनलाई धेरै इन्धनलाई आकाशमै खपत गराएका थिए," विमानसेवाको भनाइ छ।
विमान अवतरण गर्दा खिचिएको भिडिओमा विमानले अगाडिको भागले भुइँ छुनुअघि पछाडिको चक्कामा भर परेको देखिएको छ।
विमान पूरै रोकिनुअघि धावनमार्गमा २५ सेकेन्ड घिस्रिएको थियो।
"विमानचालकले गज्जबको काम गरेका छन्," म्यानमारका यातायातमन्त्री विन खान्तले समाचार संस्था रोएटर्सलाई बताए।
यसअघि गत बुधवार म्यानमारको अर्को विमानस्थलमा एउटा विमान चिप्लिएको थियो।
विमान बाङ्ग्लादेशको एउटा विमान खराब मौसमका कारण बित याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा चिप्लिएको थियो। सो घटनामा १७ यात्रु घाइते भएका थिए।