ललिता निवास जग्गा अनुसन्धानमा संलग्न डीएसपीको सरुवा

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद् कटुवालको सरुवा भएको छ। उनलाई रौतहटको इलाका प्रहरी कार्यालय चन्द्निगाहपुर सरुवा गरिएको हो । त्यहाँ कार्यरत डीएसपी कुमुद ढुंगाना छानबिनका लागि खाली रहेको स्थानमा उनलाई पठाइएको बताइएको छ । स्रोतका अनुसार अनुसन्धानमा संलग्न भएकाले तत्काल सरुवा नगर्न प्रहरी नेतृत्वलाई ब्यूरो प्रमुख डीआईजी निरज शाहीले अनुरोध गरेका थिए।
ब्युरोका एसपी दीपक रेग्मीको नेतृत्वमा भइरहेको ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा कटुवाल मुख्य भूमिकामा छन्। सरुवाको अधिकार महानिरीक्षकमा निहीत भए पनि गम्भीर प्रकृतिको अनुसन्धान प्रभावित हुनेगरी भएको सरुवालाई अर्थपूर्ण रूपमा हेर्नुपर्ने एक उच्च प्रहरी अधिकारीले जनाए। तीन महिनाको सीमा दिएर ब्युरोलाई अनुसन्धान गर्ने जिम्मेवारी दिइएको थियो। एक महिना अझै बाँकी छ। ब्युरोका प्रमुख डीआईजी शाहीले डीएसपी कटुवालको सरुवा भए पनि अनुसन्धानमा कुनै असर नपर्ने बताए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
रौतहट बालुवाटार कुमुद ढुंगाना ललिता निवास जग्गा