News

हुम्लावासीका दु:ख : चामल ल्याउन बाटोमै १२ दिन, ३० किलो चामलको चार हजार

हुम्लावासीका दु:ख : चामल ल्याउन बाटोमै १२ दिन, ३० किलो चामलको चार हजार

हुम्लाको सर्केगाड गाउँपालिका–३ उनापानीका ४१ वर्षीय कुम्म थापा नेपाल खाद्य संस्थान मुगुको शाखाबाहिर चामलको भारी कसकास गर्दै छन् । उनी यहाँसम्म चामल लिन पाँच दिन पैदल हिँडेर आएका हुन् ।

उनले चामल बोक्न खसीबोका पनि साथै ल्याएका छन् । ‘खसीबोकासँग यहाँ आइपुग्न पाँच दिन लाग्यो । घर फर्किँदा साता दिन लाग्छ । आउजाउमा १२ दिन,’ उनी भन्छन् । हुम्लाको सर्केगाड खाद्य डिपोमा चामल नभएकाले उनी मुगुसम्म आउनुपरेको हो । ‘सर्केगाडमा चामल छैन,’ उनी भन्छन्, ‘भएको पनि पाउरवाला ठूलाबडाले मात्रै लिन्छन्, हामी गरिबलाई सधैँ मुगुकै चामल खानुपर्छ ।’ 

योसहित गरेर मुगुमा चामल लिन २१ पटक आएको उनको भनाइ छ । मुगु धाउनु सजिलो छैन । ‘बिहान तीन–चार बजे नै खसीबोका हिँडाउनुपर्छ । बाटोमा खाने समय पाइँदैन । बास बस्न पनि समस्या हुन्छ,’ उनले कैरन सुनाए ।

गाउँमा ३० किलो चामलको चार हजार

ठेकेदारको लापरबाहीले समयमा चामल ढुवानी नहुँदा हुम्ली नागरिकले सधैँ चामल लिन मुगु धाउनुपर्ने बाध्यता छ । यो क्रम वर्षेनी दोहोरिइरहेको छ । आर्थिक वर्षको अन्त्यसम्ममा पनि ठेकेदारले हुम्लामा चामल ढुवानी गरेका छैनन् । यसबारे कसैले चासो र पहल पनि लिएको छैन । 

मुगु खाद्य शाखामा ३० किलो जापानी मोटा चामलको मूल्य १५ सय ८० रुपैयाँ पर्छ । त्यही चामल हुम्लाको उनापानी गाउँमा किन्दा तीनदेखि चार हजार रुपैयाँ पर्छ । ‘चार हजार हालेर पनि गाउँमा चामल पाइँदैन । नजिकको सर्केगाड डिपोमा जहिले गए पनि चामल छ भन्दैनन्,’ २०औँ पटक चामल लिन आएका उनापानीकै दानबहादुर रावतले सुनाए । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो।

हुम्ला चामल

विशेष