News

२० बर्ष नपुगि अवकाश प्रमाणपत्र नदिइने

२० बर्ष नपुगि अवकाश प्रमाणपत्र नदिइने

काठमाडौं । सशस्त्र प्रहरी बलभित्र बीचमै जागिर छोड्ने क्रम बढेपछि २० बर्ष नपुगि अवकाश प्रमाणपत्र नदिइने भएको छ । संगठनमा भर्ना भएको छोटो समयमा नै राजिनामा दिँदा राज्यलाई घाटा पुग्ने भएकाले वीस बर्ष पुगेपछि मात्र अवकाश प्राप्त प्रमाणपत्र दिन लागिएको हो । केही बर्षयता सेवा प्रवेश गरेको पाँच बर्षपछि नै राजिनामा दिएर वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ । अवकाश प्राप्त प्रमाणपत्र वैदेशिक रोजगारीको लागि विश्वासिलो आधारको रुपमा प्रयोग गर्न थालेपछि सशस्त्र प्रहरीले कार्यविधि बनाएर नै प्रमाणपत्र दिने समयसीमा तोकेको हो ।

 

सशस्त्र प्रहरीमा भर्नापछि तालिमका साथै वृत्ति विकासका लागि राज्यको ठूलो लगानी हुने गरेको छ । हातहतियार चलाउने दक्षता भएका प्रहरी–कर्मचारीले बीचमा जागिर छोड्दा घाटा पुग्ने निष्कर्ष निकाली यस्तो निर्णय गरिएको हो । सशस्त्र प्रहरीलेको परामर्श समितिको बैठकले १६ बर्षमा नै अवकाश भए पनि २० बर्ष नपुगि अवकाश प्रमाणपत्र नदिने निर्णय गरेपछि जागिर छोड्ने क्रम घटेको छ ।

 

सशस्त्र प्रहरी वल नेपालका प्रवक्ता सुरजकुमार श्रेष्ठले संगठनभित्र पाँच बर्ष काम गरेर वैदेशिक रोजगारीमा जानका लागि प्रमाणपत्र प्रयोग गर्ने क्रम बढेकाले वीस बर्ष पुगेपछि मात्र अवकाश प्राप्त प्रमाणपत्र दिने निर्णय भएको बताउँदै नेपाल समाचारपत्रसँ भने, ‘अवधि नपुगि सेवाबाट अवकाश लिनेले सेवा अलग भएको प्रमाणपत्र पाउदैनन, पत्रमा संगठनमा रहदा गरेको कामको अभिलेख उल्लेख गरेर मात्र पठाउछौं ।’

 

उनका अनुसार एक जनालाई तालिम गराउन, हतियार चलाउन, फाइरिङ गराउन, लत्ता कपडा र खाना सहितको व्यवस्था गर्दा करिब ५ लाख भन्दा बढी रकम तालिम अवधिमा नै खर्चनुपर्ने हुन्छ । आठ महिनाको अवधिमा तालिम गर्दा राज्यको ठूलो धनराशी खर्च हुने भएकाले समयअवधि नपुगि अवकाश रोज्ने क्रम रोक्न सशस्त्रले कार्यविधि बनाई लागू गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । यो समाचार नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।

सशस्त्र प्रहरी बल अवकाश प्रमाणपत्र

विशेष