जहाँ पाइन्छ २५ रुपैयाँमा पेटभरी खाना

भैरहवा : २५ रुपैयाँमा खाना ! सुन्दा पत्यार नलाग्न सक्छ। तर, सत्य हो। भैरहवामा एक व्यवसायीले २५ रुपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन्। भैरहवाका व्यवसायी रविकुमार रौनियाले आफ्नी स्वर्गीय आमा मायादेवीको सम्झनामा स्थापना गरेको मायादेवी च्यारिटेबल फाउण्डेसन अन्तरगतको ‘अन्नपूर्ण भोजनालय’ मार्फत खाना खुवाउने जमर्को गरेका हुन्।
गाडीमा घुम्ती सेवामार्फत खाना खुवाइन्छ। मंगलबारबाट खाना खुवाउन थालिएको छ। शाकाहारी खाना निम्न आय भएका वर्गलाई खुवाउने व्यवसायी रौनियारले उद्देश्य राखेका छन्। ‘२५ रुपैयाँमा निम्न आय वर्गलाई खाना खुवाउने हाम्रो उद्देश्य हो’, उनले भने, ‘तर निम्न वर्गका लागि मात्रै नभइ २५ रुपैयाँमा हामीले सबै वर्गलाई खाना खुवाउने छौं।’
विशेष गरी अस्पताल, सरकारी विद्यालय र मजदुरलाई कार्यस्थलमा फाउण्डेसनले मिनी ट्रकमार्फत घुम्ती सेवा दिँदै खाना खुवाउने छ। ‘पहिलो चरणमा १५–१५ दिनको फरकमा खाना खुवाउँछौँ’, व्यवसायी रौनियारले भने, ‘विस्तारै प्रत्येक दिन खाना खुवाउने योजना हाम्रो छ।’ यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।
खाना