छोरी परीक्षार्थी, बाबु परीक्षक, त्रिवि सेवा आयोगको अन्तर्वार्ता स्थगित
काठमाडौं । सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा प्रक्रिया बिहीबार अवरुद्ध भएको छ । सेवा आयोगका पदेन सदस्यसमेत रहेका लोकसेवा आयोग सदस्य ब्रह्मदेव रायले परीक्षा प्रक्रिया स्वच्छ र मर्यादित नभएको भनी आपत्ति जनाउँदै परीक्षा प्रक्रियामा सामेल हुन नसक्ने जनाएका थिए । लगत्तै सेवा आयोगले विशेष सूचना निकालेर परीक्षा स्थगित गरेको हो । त्रिभुवन विश्वविद्यालयले गत वैशाख १४ गते उपप्रशासकदेखि सवारीचालक तहसम्मका विभिन्न पदमा लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको थियो । त्यस क्रममा सेवा आयोगका पदाधिकारीदेखि प्रशासकीय प्रमुखका नातेदार उत्तीर्ण भएका थिए ।
त्रिविसँग सम्बद्ध पदाधिकारी र पहुँचवालाका नातागोतालाई समेत पास गराइएको खुलासा भएको थियो । नातेदार सहभागी परीक्षामा पदाधिकारीहरू सामेल भएपछि उनीहरूमाथि बदनियत राखेको आरोप लागेको छ । यसबारे अख्तियारले छानबिन गरिरहेको छ । लिखित परीक्षामा सहभागी त्रिवि आयोगका अध्यक्ष चैतन्य शर्मा बिहीबारको अन्तर्वार्तामा समेत सामेल थिए । अन्तर्वार्ता सञ्चालनकै क्रममा पुगेका लोकसेवाका सदस्य रायले परीक्षा मर्यादित हुन नसकेको र अर्को संवैधानिक निकायले छानबिन गरिरहेको अवस्थामा परीक्षा प्रक्रिया अघि बढाइए आफू सहभागी नहुने चेतावनी दिएका थिए ।
उनले औपचारिक सूचनामा भने कार्यव्यस्ततालाई कारण देखाएका थिए । त्यसपछि अध्यक्ष शर्माले आफू परीक्षामा सामेल नहुने बताए । त्यसपछि परीक्षा स्थगित भएको हो । रायले कान्तिपुरसँग समेत व्यस्त भएकाले सहभागी हुन नसकेको बताए । लोकसेवाका सदस्य त्रिवि आयोगको पदेन सदस्य रहने प्रावधान छ । त्रिवि आयोगले प्राविधिक कारण भन्दै शाखा अधिकृत पदको अन्तरवार्ता अर्को सूचना प्रकाशित नगरेसम्मका लागि स्थगित गरिएको जनाएको छ । बिहीबार उपप्रशासक र आर्थिक उपनियन्त्रकको भने अन्तरवार्ता भएको छ । खुला प्रतिस्पर्धाबाहेक प्राध्यापकहरूको अन्तर्वार्ता पनि सुचारु छ । लिखित परीक्षामा अध्यक्ष शर्मा, प्रशासकीय प्रमुख परशुराम कोइराला, त्रिवि केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्यलगायत पदाधिकारीका नातेदारको नाम निस्केको छ । शर्मा र कोइराला दुवै लिखित परीक्षामा सहभागी थिए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।