डा. ढकालले गरे साहसिक निर्णय
काठमाडौं । पशुपतिपूर्वको तिलगंगा–ताम्रगंगा सडक पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालको ‘बोल्ड डिसिजन’ले बन्द भएको छ ।
सो सडक बन्द नगरिए युनेस्कोले विश्व सम्पदा सूचीबाट हटाउने चेतावनी दिएको थियो भने सर्वोच्च अदालतले सडक बन्द गरेर सम्पदा जोगाउन पशुपति क्षेत्र विकास कोषलाई आदेश दिएको थियो ।
अदालतकै आदेश भए पनि प्रचलनमा आइसकेको सडक बन्द गर्नु चुनौतीपूर्ण थियो । १३ वर्षअगाडि खुलेको सडक बन्द नगर्न पशुपति पूर्व–उत्तरका बासिन्दाले दबाब दिँदै आएका थिए ।
अदालतदेखि नागरिक समाज, सम्पदाप्रेमी, काठमाडौं महानगरपालिकालगायतले सडक बन्द गर्न पशुपति क्षेत्र बिकास कोषलाई हौसला दिएपछि अहिले पर्खाल लगाउन थालिएको छ ।
६४ सालमा हिसिला यमी पर्यटनमन्त्री हुँदा उनको निर्देशनमा माओवादीको युवा संगठन वाईसिएलले जंगलको बीचबाट सडक खनेको थियो ।
२०६३ सालमा सञ्चालनमा आएको सडक पटकपटक विवादमा पर्दै आएको थियो । कोषले बन्द गर्न खोज्दा पनि यसअघि स्थानीयको दबाबले सडक सञ्चालनले निरन्तता पाएको थियो ।