News

सगरमाथाको उचाइ मापन प्राविधिक टोली आधार शिविरबाट चुचुरोतर्फ प्रस्थान

सगरमाथाको उचाइ मापन प्राविधिक टोली आधार शिविरबाट चुचुरोतर्फ प्रस्थान

काठमाडौं । सगरमाथाको उचाइ मापनका लागि नापी विभागको प्राविधिक टोली आधार शिविरबाट चुचुरोतर्फ प्रस्थान गर्ने तयारीमा छ ।

मौसमले साथ दिए उक्त टोली सोमबारदेखि मङ्गलवारसम्ममा चुचुरोमा पुग्ने अनुमान गरिएको छ । नापी विभागका प्राविधिक खिमलाल गौतमको नेतृत्वमा चारजनाले सगरमाथाको उचाइ मापनका गर्दैछन् । उक्त टोली काठमाडौँबाट चैत २७ गते आधार शिविर पुगेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले टोलीलाई बिदाई गरेका थिए । 

मापनका लागि गएको टोलीले करिब एक महिनासम्म त्यहाँको वातावरणमा आफूलाई अनुकूलन गराइरहेका थिए । मौसम अनुकूलन गराउने क्रममा एक महिनाको बीचमा आधार शिविरबाट तीन नम्बर क्याम्पसम्म पुगेका थिए । मौसम खुलेपछि मात्र माथि चढ्ने तयारी गरिएको थियो । सामान्यतया मे महिनाको दोस्रो हप्तादेखि सगरमाथा आरोहणका लागि मौसम उपयुक्त हुने गर्छ । 

नापी विभागका सगरमाथा उचाइ मापन सचिवालयका प्रमुख सुशील डंगोलले पथ प्रदर्शक शेर्पाहरूले सगरमाथा मापनमा प्रयोग हुने दुईवटा मेसिन माथि लगिसकेको जानकारी दिए । पथप्रदर्शकहरूलाई पनि मेसिन चलाउन सामान्य तालिम दिइएको उल्लेख गर्दै उनले प्राविधिक कर्मचारीको स्वास्थ्यमा समस्या आए पनि पथप्रदर्शकहरूले उक्त मेसिन सञ्चालन गर्न सक्ने तयारी गरिएको स्पष्ट पारे । 

सगरमाथा

विशेष