राजमार्ग अवरुद्ध भए अब १० मिनेटमै खुलाइने
काठमाडौं । सरकारले राजमार्ग वा सडक अवरुद्ध हुनै नदिने र यदि कुनै कारणले अवरुद्ध भए दश मिनेटभित्र नै अवरोध खुलाउन ‘राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारबाहीको कार्यविधि, २०७५’ ल्याएको छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामकृष्ण सुवेदीले राजमार्ग र सडक सकभर कुनै पनि कारणले अवरुद्ध हुनै नदिने र यदि कुनै कारणले अवरुद्ध भए दश मिनेटभित्र खुलाउने योजना सरकारले ल्याएको जानकारी दिए ।
उनले भने, ‘समग्र मुलुक र आम नागरिकको ‘लाइफ लाइन’ का रुपमा रहेका राजमार्ग र सडक कुनै पनि हालतमा एकछिन पनि अवरुद्ध हुनुहुुँदैन भन्ने राज्यको मान्यता छ, तै पनि यदि कुनै कारणले अवरुद्ध भएको अवस्थामा दश मिनेटभित्र खुलाउने योजना सरकारले कार्यान्वयनमा ल्याएको छ ।’ उनले ‘राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारबाहीको कार्यविधि, २०७५’ कार्यान्वयनमा ल्याएको जानकारी समेत दिए ।
आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न तथा विभिन्न बहानामा राजमार्ग र सडक अवरुद्ध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न तथा आमनागरिकलाई विनाअवरोध सहज रुपमा मुलुकभर यात्रा गर्न सहज होस् भन्ने उद्देश्यसहित सो कार्यविधि ल्याइएको प्रवक्ता सुवेदीले जानकारी दिए । निहित स्वार्थका लागि गरिने बन्द–हडतालका साथै प्राकृतिक विपद्का कारण समेत सडक अवरुद्ध भएको अवस्थामा पनि दश मिनेटभित्र अवरोध खुलाउने गरी उक्त कार्यविधि ल्याइएको प्रवक्ता सुवेदीले बताए । सो कार्यविधि मुलुकभरिका जिल्ला प्रशासन कार्यालयमा पठाइसकिएको जानकारी समेत उनले दिए ।
कार्यविधि कार्यान्वयनमा आएसँगै अवरुद्ध राजमार्ग र सडक खुलाउन सम्बन्धित क्षेत्रका प्रशासनले एकीकृत बल प्रयोग गर्न सक्ने प्रस्ट पार्दै प्रवक्ता सुवेदीले कार्यविधिमा अवरुद्ध हटाउने प्रक्रियाका साथै राजमार्ग र सडकलाई थप सुरक्षित बनाउने, कुनै दुर्घटना भएको अवस्थामा शीघ्र उद्धार गर्नसक्ने लगायतका व्यवस्था गरिएको जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।
राजमार्ग