News

विज्ञलाई टोर्नाडोको नेपाली नाम जुराउन सकस : महाहुण्डरी, धूम हुण्डरी, बबण्डरको सुझाव

विज्ञलाई टोर्नाडोको नेपाली नाम जुराउन सकस : महाहुण्डरी, धूम हुण्डरी, बबण्डरको सुझाव

काठमाडौं । गत चैत १७ गते बारा र पर्सामा आएको टोर्नाडोको नेपाली नाम जुराउन विज्ञलाई सकस परेको छ ।

टोर्नाडो गएको झण्डै डेढ महिना बित्न लाग्दा पनि त्यसको नेपाली नाम राख्न विज्ञले नसकेका हुन् । के कस्तो नाम राख्ने भन्ने विषयमा ठ्याक्कै नाम जुराउन गाह्रो भइरहेको विज्ञहरूले बताए । टोर्नाडोको अवस्था मूल्यांकन तथा वास्तविक तथ्य पत्ता लगाउन अनुसन्धान गर्न गएको टोलीले समेत सही नाम हालसम्म छनोट गर्न नसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका महानिर्देशक सरजुकुमार वैद्यले भने, “टोलीले रिपोर्ट बुझाएको छैन त्यसका आधारमा नाम राखिन्छ, रिपोर्ट आएपछि नामको पनि टुंगो लाग्ला ।” 
आउँदो हप्ताभित्र रिपोर्ट आफूसमक्ष आउने र सुझाएका नामका बारेमा छलफल गरी टोर्नाडोको नाम राखिने उनले बताए । टोलीले भने टोर्नाडोको असर तथा त्यसका विविध पक्षमा गरिएको अध्ययन लगभग अन्तिम चरणमा पुगेको जनाएको छ ।

विभागसहित टोर्नाडो पत्ता लगाउने कार्यमा संलग्न स्मल अर्थ नेपाल, इसिमोड तथा प्राविधिकसहितको टोलीले टोर्नाडो आएको स्थानको स्थलगत अध्ययन गरेको थियो । “नामहरु आएका छन् तर यही नाम भनेर तोकिएको छैन” टोलीकी संयोजक डा।अर्चना श्रेष्ठले भने, “मन्त्रालयले पनि नेपाली शब्दकोषमा समायोजन गर्न सकिने र सुहाउँदो नाम चाहिन्छ भनेकाले गृहकार्य भइरहेको छ ।” उनका अनुसार नेपालमा यसअघि कहिलै पनि नआएको हुनाले यो भविष्यको इतिहास हो । त्यसैले पनि नेपालको मौलिकता झल्कने नाम जरुरी हुन्छ । 

टोलीमा सहभागी विज्ञहरूका अनुसार तराइ भेगमा चल्ने भाषा तथा विपत्तिमा राखिने नामसँग जोडेर समेत नामको खोजी भइरहेको छ । महाहुण्डरी, घूम हुण्डरी, बवण्डर लगायतका नाम सुझाव सङ्कलनबाट आएको विज्ञहरूले बताए । स्मल अर्थ नेपालमा अध्येता नामीहाङ किराँतले भने रिपोर्ट दिइसकेको उल्लेख गरे । “अब ड्रोनको तस्बिर तथा भू–उपग्रहका तस्बिर विश्लेषणको काम विभागले गरिरहेको छ,” किराँतले थपे, “नामको बारेमा भने विभागले नै टुंगो लगाउँछ ।” यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो।

टोर्नाडो

विशेष