मोटरसाइकल पछाडि बस्नेलाई पनि अब हेल्मेट अनिवार्य
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलचालकको पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याउन लागेको जनाएको छ । बग्गीखानास्थित महाशाखा कार्यालयमा आइतबार भएको पत्रकार सम्मेलनमा महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले उपत्यकाभित्रका सवारी दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलचालकको पछाडि बस्ने यात्रु धेरै रहेकाले नयाँ नियम सुरु गर्न लागेको बताए । उनले भने, ‘उपत्यकाभित्र प्रत्येक महिना दुई सयभन्दा धेरै सवारी दुर्घटना हुने गरेका छन् । त्यसमध्ये मृत्यु हुनेमा सबैभन्दा धेरै मोटरसाइकलचालकको पछाडि बस्ने यात्रु रहेको पाइएको छ । यात्रुको सुरक्षाका लागि यो नियम ल्याउन लागिएको हो । उपत्यकामा यो आवश्यक भइसकेको छ ।’
सुरक्षाका लागि हेल्मेट
महाशाखाको तथ्यांकअनुसार सवारी दुर्घटनाका कारण पछिल्लो सात वर्षमा एक हजार एक सय ७७ जनाको मृत्यु भएको छ । जसमध्ये पाँच सय ३३ को मृत्यु मोटरसाइकल तथा स्कुटर दुर्घटनामा भएको छ । एसएसपी पन्तले भने, ‘उपत्यकामा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या प्रत्येक महिना बढ्दै गएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै मोटरसाइकल चढ्नेछन् । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।