News

प्रहरी ३० वर्षपछि भने ३० वर्षे सेवा अवधि कायम नरहने

प्रहरी ३० वर्षपछि भने ३० वर्षे सेवा अवधि कायम नरहने

काठमाडौं । नेपाल प्रहरीभित्र ३० वर्षे सेवा अवधि कायम राख्ने कि हटाउने भन्ने विवाद चलिरहँदा तत्कालका लागि सो प्रावधान नहटाउने गरी विधेयकको मस्यौदा तयार भएको छ। गृह मन्त्रालयले तयार पारेको मस्यौदामा ३० वर्षपछि भने ३० वर्षे सेवा अवधि कायम नरहने व्यवस्था गरिएको छ।

प्रहरी ऐन २०१२ लाई प्रतिस्थापन गर्न बनेको ‘नेपाल प्रहरीको गठन तथा सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ऐनका रुपमा लागू भएपछि भर्ना भएका प्रहरी कर्मचारीका हकमा मात्रै ३० वर्षे सेवा अवधि लागू नहुने विधेयकमा उल्लेख छ। यस्ता प्रहरी कर्मचारीका लागि उमेर हद वा पदावधिका आधारमा अवकाश पाउने प्रस्ताव गरिएको छ।

प्रहरी संगठनभित्र ३० वर्षे सेवा अवधिको प्रावधान हटाउँदा आईजीपीमा पुग्ने सम्भावना भएका प्रहरी अधिकृत समस्यामा पर्ने भएका कारण सेवा अवधि हटाउने प्रावधान ३० वर्षपछि धकेलिएको छ। मस्यौदाको अवकाश, उपदान तथा निवृत्तिभरणसम्बन्धी व्यवस्थामा हाललाई ३० वर्ष सेवा अवधि कायमै राखिएको छ।

मन्त्रिपरिषद्ले ‘नेपाल प्रहरीको गठन तथा सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ल्याउन गृह मन्त्रालयलाई तीन महिनाअघि नै स्वीकृति दिएको थियो। गृहका अनुसार मस्यौदा मन्त्रिपरिषदमा पठाउने तयारी भइरहेको छ। ‘लामो छलफलपछि विधेयक तयार भएको छ, केही दिनमै मन्त्रिपरिषदमा जानेछ,’ स्रोतले भन्यो। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।

प्रहरी विधेयक

विशेष