News

शिक्षामा ४ अर्ब वैदेशिक अनुदान रोकियो

शिक्षामा ४ अर्ब वैदेशिक अनुदान रोकियो

काठमाडौं । विद्यालय शिक्षा विकास कार्यक्रम (एसएसडिपी) का लागि दातृ निकायले नेपाललाई दिन प्रतिबद्धता गरेको चार अर्बभन्दा बढी रकम निकासा रोकिएको छ । रकम प्राप्तिका लागि भएको सम्झौताअनुसार विद्यालय शिक्षा विकासका कार्यक्रममा प्रगति नहुँदा र कतिपय कार्यक्रमको स्थानीय तहबाट प्रगति विवरण नै नआउँदा अनुदान रोकिएको हो । 

 

शिक्षा मन्त्रालयका एक सहसचिवका अनुसार अहिलेसम्म आउनुपर्ने दुई अर्बभन्दा बढी रकम दाताले दिएका छैनन् । साउनसम्म प्रगति अहिलेकै अवस्थामा रहे चार करोड अमेरिकी डलर (चार अर्ब रुपैयाँभन्दा बढी) नआउने जोखिम रहेको उनले बताए । ‘अहिले सरकारले पाउनुपर्ने रकम ‘रेडजोन’ तिर गइरहेको छ,’ ती सहसचिवले भने, ‘काम सकेको भए दुई अर्ब रुपैयाँ आइसक्नुपर्ने थियो, आएको छैन ।’

 

विद्यालय शिक्षाको समग्र गुणस्तर सुधार गर्ने योजनासहित शिक्षा मन्त्रालयले सन् २०१६÷१७ देखि एसएसडिपी कार्यक्रम सुरु गरेको हो । झन्डै साढे ६ खर्ब लाग्ने पाँचवर्षे कार्यक्रमका लागि वैदेशिक सहायता झन्डै ५० अर्ब रुपैयाँ छ । दाताहरूसँग काम सकेपछि भुक्तानी लिने गरी सम्झौता छ । दाताले ‘बास्केट फन्ड’ मा वार्षिक १४ अर्ब हाराहारी दिने प्रतिबद्धता छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

शिक्षा वैदेशिक अनुदान

विशेष