News

प्रहरीमाथि आगो झोस्नेलाई कारबाही नगरी उपचार खर्च भराउने सहमति

प्रहरीमाथि आगो झोस्नेलाई कारबाही नगरी उपचार खर्च भराउने सहमति

ड्युटीमा रहेका प्रहरी जवानको शरीरमा आगो झोस्ने व्यक्तिलाई कारबाही नगरी उपचार खर्च भराउने सहमति भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा त्यस्तो सहमति गरिएको हो ।

नारायणगढ–हेटौँडा सडकखण्डअन्तर्गत राजस्व संकलनका लागि गोन्द्राङमा राखिएको ढाटमा ३ जेठमा तोडफोड र आगजनी गरिएको थियो । आगजनी रोक्न खोज्दा प्रहरी जवान कल्पना खड्काको शरीरमा पनि आगो झोसिएको प्रत्यक्षदर्शीले बताएका छन् । उनका हात र खुट्टा जलेका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । 

त्यस घटनाका दोषी सोमबारसम्म पत्ता नलागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरी, केपी लामिछानेलाई पक्राउ गरिएको छ । तर, उनीहरूमाथि मुद्दा लगाइएको छैन । ठेकदार पक्षले उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी, सरोज तिमिल्सिनाविरुद्ध किटानी जाहेरी दिएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

सहमति

विशेष