News

सिंहदरबारकै जग्गा अतिक्रमण

सिंहदरबारकै जग्गा अतिक्रमण

काठमाडौं । सिंहदरबारको पूर्व अनामनगरतर्फ कुलो र गोरेटो मात्रै थियो । ०४७ मा सडक निर्माण योजना बन्यो । सडक बनाउँदा चल्तीको गोरेटोलाई केन्द्र मानेर दुवैतर्फ बराबरी जग्गा उपयोग गर्नुपर्नेमा शतप्रतिशत जमिन सिंहदरबारको मात्रै मिचियो । पर्खालभित्रबाट मात्र सडक निर्माण गर्दा सिंहदरबारको ४६ रोपनी ६ आना जग्गा अतिक्रमण भयो । पूर्वपट्टिको आफ्नो निजी जग्गा जोगाउन एकतर्फी रूपमा सिंहदरबारको जग्गा अतिक्रमण गरिएको ठहर गर्दै रामबहादुर रावल नेतृत्वको आयोगले जग्गा फिर्ता गराउन सिफारिस गरेको थियो । तर, ०५२ मा प्राप्त प्रतिवेदनउपर सरकार २४ वर्षसम्म मौन छ । 

 

किन मिचियो सिंहदरबार ?
०४७ सम्म घट्टेकुलोबाट हनुमानस्थान पुग्ने सानो कुलो थियो । कुलोको डिलैडिल पैदल बाटो थियो । त्यहाँबाट भित्रपट्टि सिंहदरबारको पर्खाल थियो । सिंहदरबारबाहिर व्यक्तिका खेत थिए । सिंहदरबार गुरुयोजनाअन्तर्गत पूर्वतर्फ सडक बनाउँदा कुलोको डिलको बाटोलाई केन्द्र बनाएर दायाँबायाँ बराबरी जग्गा उपयोग हुनुपथ्र्यो । तर, सिंहदरबारभित्रै उच्च तहमा रहेका कर्मचारीको जग्गा पर्ने भएपछि उनीहरूले गुरुयोजना नै उल्ट्याउन लगाएर सिंहदरबारको मात्र जग्गा मिचे र सडक बनाए । 

 

तत्कालीन गृह मन्त्रालयका सहसचिव पद्मराज सुवेदीको पनि अनामनगरमा सडकनजिकै जग्गा थियो । पछि उनले त्यही जग्गामा घर बनाए । अहिले बाजेको सेकुवासँगै पूर्वसचिव सीताराम खनालको घर छ । उनी त्यतिवेला मन्त्रिपरिषद् सचिवालयका सहसचिव थिए । नियमअनुसार आधा जग्गा सरकारको र आधा व्यक्तिको गरी सडक विस्तार भएको भए उनको जग्गा पनि काटिन्थ्यो । तत्कालीन संसद् सचिवालयका सहसचिव राधेश्याम भट्टराई (पछि सचिवबाट अवकाश)को घरजग्गा पनि सिंहदरबारसँग जोडिएको थियो । गुरुयोजनाअनुसार सडक विस्तार भएको भए त्यतिवेला सरकारको सहायक सचिव रहेका रणबहादुर श्रेष्ठ (पछि सचिवबाट अवकाश)को पनि जग्गा पथ्र्यो । अहिले काठमाडौं उपत्यका विकास प्राधिकरणसँगै रहेको उनको घर भएको जग्गा त्यतिवेलै सडक बन्थ्यो ।

 

तत्कालीन समयमा राजदरबारका पुजारी नायब बडागुरुज्यू माधवप्रसाद भट्टराईको घर पनि सिंहदरबारको पूर्वी गेटसँगै थियो । त्यतिवेला विकासको मूल फुटाउने भन्दै न्युप्लाजाबाट सिंहदरबारको कम्पाउन्ड भत्काउँदै सरकारी जग्गाबाट बाटो विस्तार गरेको पूर्वएसएसपी इन्द्र न्यौपानेले बताए । त्यतिवेला इन्स्पेक्टर रहेका उनको घर नै सिंहदरबार कम्पाउन्डसँगै जोडिएको थियो । अहिले लोकसेवा आयोगसँगै उनको घर छ । 

 

०३९ मा तयार भएको सिंहदरबार गुरुयोजनामा अनामनगरदेखि न्युप्लाजासम्म सडक विस्तार नगरी अनामनगरस्थित व्यक्तिको जग्गासमेत अधिग्रहण गरेर सिंहदरबारको क्षेत्रफल बढाउन सकिने प्रस्ताव थियो । तर, त्यसविपरीत मन्त्रीस्तरीय निर्णयबाट ०४७ मा न्युप्लाजाबाट अनामनगरसम्म बाटो विस्तारको निर्णय गरियो । यसबाट सिंहदरबारको ४२ रोपनी ६ आना जग्गा अतिक्रमित भयो । यो निर्णय गरेका थिए, तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारका गहृमन्त्री योगप्रसाद उपाध्याय र भौतिक योजना तथा निर्माणमन्त्री अच्युतराज रेग्मीले । गुरुयोजनाविपरीत गृहमन्त्री उपाध्यायकै उपस्थितिमा व्यक्तिको जग्गा नछुने र सिंहदरबार पर्खालभित्रबाट सडक विस्तारको निर्णय भएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रशासकीय अधिकृत रामप्रसाद बेल्वासे बताउँछन् । बाटो विस्तारका लागि सिंहदरबार गुरुयोजना परिमार्जन गर्ने निर्णय भने भौतिक योजना तथा निर्माणमन्त्री अच्युतराज रेग्मीले गरेका थिए ।  यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

सिंहदरबार

विशेष