News

तरकारीमा ५ तह बिचौलिया, सरकारी निकाय भन्छ : मूल्य बढ्नु रहस्यमय

तरकारीमा ५ तह बिचौलिया, सरकारी निकाय भन्छ : मूल्य बढ्नु रहस्यमय

काठमाडौं । सरकारले किसान र उपभोक्तालाई राहत दिने गरी तरकारी बजार व्यवस्थित गर्ने बताए पनि बिचौलियाको बिगबिगी हटेको छैन । सरकारले करिब ९ महिनाअघि र आइतबार राति गरेको बजार अनुगमनमा समस्या उस्तै पाइएको हो । किसानले उत्पादन गरेको तरकारी अझै पाँच तह पार गरेर मात्र उपभोक्तासम्म पुग्ने गरेको अनुगमनले देखाएको छ । हरेक तहमा मूल्य बढदा तरकारी महँगो हुने गरेको छ । 

केही महिनाअघि तराई क्षेत्रमा भएको हावाहुरी र भारतको निर्वाचनलाई देखाउँदै यतिबेला व्यवसायीले तरकारीको मूल्य अस्वाभाविक रूपमा बढाएका छन् । बढेको मूल्य किसानले भने पाएका छैनन् । वाणिज्य आपूर्ति तथा उपभोक्तँ संरक्षण विभागले तयार पारेको प्रतिवेदनअनुसार गोलभेंडाको मूल्य ५ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । सरकारी निकाय मूल्य बढ्नु रहस्यमय भएको बताउँछ ।

कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । उक्त बजारमा दैनिक ९ सय टनसम्म तरकारी भित्रिएको छ । बजारमा मूल्य भने बढेको बढ्यै छ । विभागको टोलीले विभिन्न जिल्लाबाट उपत्यका भित्रिने मुख्य नाका थानकोट चेकपोस्टमा आइतबार मध्यरात विशेष अनुगमन गरेको थियो । प्रहरी र उपभोक्ता अधिकारकर्मीसहितको टोलीले राति १० देखि ४ बजेसम्म तरकारी बोकेका ठूलारसाना गरी करिब २० वटा ट्रकमा अनुगमन गरेको हो । ‘व्यवसायीहरूले विगतकै कैफियत दोहोर्‍याएको पाइयो । बिलबिजक जारी भएको छैन, किसानबाट कतिमा खरिद भयो, त्यो तरकारी कहाँ कतिमा बिक्री हुन्छ, तथ्यांक छैन,’ अनुगमन टोली संयोजक एवम् निरीक्षण अधिकृत पवन प्याकुरेलले भने । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

तरकारी

विशेष