News

तातोपानी नाकामा धमाधम काम, जेठभित्र निर्माण सम्पन्न

तातोपानी नाकामा धमाधम काम, जेठभित्र निर्माण सम्पन्न

काठमाडौं । नेपाललाई चीनसित जोड्ने तातोपानी नाका पुनः सञ्चालनमा ल्याउनका लागि तीव्र गतिमा काम भइरहेको छ । नेपाल र चीनको सिमानामा रहेको मैत्रीपुल र अरनिको राजमार्गको निर्माण कार्य तीव्र गतिमा भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जेठको तेस्रो सातादेखि तातोपानी नाका पुनः सञ्चालनमा ल्याउने सरकारको घोषणा पूरा गर्ने गरी भूकम्प र बाढीबाट क्षतिग्रस्तसडक र पुलको निर्माण कार्यलाई तीव्रता दिएको बताए ।

 

सीमामा रहेको मैत्रीपुलको निर्माण कार्य अबको एक महिनाभित्र सम्पन्न गर्ने गरी २४ घण्टा निर्माण कार्य जारी रहेको जानकारी उनले दिए । सरकारी उच्चस्तरीय टोलीद्वारा चैत २६ गते अरनिको राजमार्ग र तातोपानी नाकाको स्थलगत अवलोकन गराएको थियो । अवलोकनका क्रममा टोलीद्वारा जेठको १७ गतेबाट तातोपानी नाका पुनः सञ्चालनमा ल्याउने जानकारी गराइएको थियो । काठमाडौँदेखि सिन्धुपाल्चोकको तातोपानीसम्मको दूरी ११४ किलोमिटर छ ।

 

जेठभित्र निर्माण सम्पन्न 
सडक डिभिजन कार्यालय, चरिकोटका डिजिभन प्रमुख धर्मेन्द्र झाले सरकारको घोषणा अनुसार निर्धारित समयमा नै तातोपानी नाका पुनः सञ्चालनमा ल्याउनका लागि अहिले दिनरात काम भइरहेको बताउँदै जेठभित्र मैत्रीपुल तथा सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने जानकारी दिए । अहिले खाँडीचोर–बाह्रबिसेदेखि चाइनिज क्याम्प खण्ड (१५ किलोमिटर) मा कालोपत्रे कार्य भइरहेको बताउँदै उहाँले अहिले विभिन्न स्थानमा नदी कटान रोकथाम, पहिरो नियन्त्रण तथा सडक पुनस्र्थापनाको काम भइरहेको जानकारी समेत दिए । त्यसैगरी, चिनियाँ पक्षबाट अहिले बनदेउ–बाह्रबिसे खण्ड र बाह्रबिसे–कोदारी खण्डमा नदी कटान रोकथाम, पहिरो नियन्त्रण तथा सडक पुनस्र्थापनाको कार्य भइरहेको जनाइएको छ । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

तातोपानी नाका

विशेष