News

कारागारको भरमा खाद्य संस्थानको व्यापार

कारागारको भरमा खाद्य संस्थानको व्यापार

दाङ : दुर्गम क्षेत्रका नागरिकलाई सहुलियतमा चामल उपलब्ध गराउँदै आएको नेपाल खाद्य संस्थानको व्यापार घट्दै गएको छ। केही वर्षदेखि संस्थानको चामल बिक्री घट्दै गएको संस्थानले जनाएको छ।

दाङको तुलसीपुरमा अञ्चल कार्यालय स्थापना गरी संस्थानले पहाडी तथा हिमाली क्षेत्रमा चामल पठाउँदै आएको छ। सेवा क्षेत्रका नागरिकले संस्थानको चामल किन्न छोडेपछि बिक्रीमा कमी आएको हो। तीन वर्षयता खाद्य संस्थानको चामल नागरिकले किन्न छोडेका छन्। खाद्य संस्थान राप्ती अञ्चल कार्यालय तुलसीपुरको चामल सीमित क्षेत्रबाहेक आमउपभोक्ताको प्रयोगमा छैन।

सडक सुधारसँगै व्यापारीले पहाडी तथा हिमाली जिल्लाका दुर्गम क्षेत्रमा ताजा तथा मसिना चामल पुर्‍याउन थालेपछि संस्थानको चामलको माग घटेको हो। उपभोक्ताको स्वाद पनि मसिना चामलमै गएकाले संस्थानको चामल बिक्री कम भइरहेको र बिक्री बढाउन नयाँ अभ्यास सुरु गरिएको तुलसीपुर कार्यालयका प्रमुख माधव मिश्रले बताए। विगत वर्षमा १८ हजार क्विन्टल बिक्री हुने संस्थानको चामल यस वर्षको हालसम्म ४ हजार ५ सय क्विन्टल मात्र बिक्री भएको कार्यालयको तथ्यांकले देखाएको छ।

विगतका तुलनामा पछिल्ला वर्षदेखि खाद्य संस्थान तुलसीपुरमा खाद्यान्न आयात र निर्यातमा कमी आएको मिश्रले जानकारी दिए। गत वर्षको तुलनामा यस आर्थिक वर्षमा कम चामल निर्यात भएको उनले जानकारी दिए। यो घटदो क्रममा छ। संस्थानमा गत वर्षहरूको तुलनामा पछिल्लो अवस्थामा चामलको माग नै घटेकाले आयात र निर्यातमा पनि कमी भएको उनको भनाइ छ। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।

नेपाल खाद्य संस्थान

विशेष