News Technology

निगमको दिल्ली उडान बढ्यो, हरेक दिन अब दुईवटा उडान

निगमको दिल्ली उडान बढ्यो, हरेक दिन अब दुईवटा उडान

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले बुधबारदेखि हरेक दिन काठमाडौं–दिल्ली दुईवटा उडान सुरु गरेको छ । यसअघि उक्त रुटमा हप्तामा ११ वटा उडान गर्दै आएकोमा निगमले अब १४ वटा उडान गर्ने भएको हो । भारतीय विमान कम्पनी जेट एयरलाइन्सको उडान बन्द भएपछि उक्त रुटमा यात्रुको चाप बढ्दै गएकोले निगमले उडान थपेको हो । 

 

आवश्यकता अनुसार दिल्लीसहित भारतका अन्य विन्दुमा पनि उडान बढाउने तयारीमा रहेको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बताए । ‘सी चेकपछि हाम्रो न्यारोबडी यसै हप्ता नेपाल आउँदैछ’ उनले भने, त्यसपछि पनि उडान बढाउन सकिन्छ ।’ दुईवटा वाइडबडी र दुईवटा न्यारो बडीबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको निगमले जहाज अभावका कारण थप गन्तव्य बढाउन समस्या भइरहेको उहाँले बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति गर्नका लागि अहिले राति १० बजेदेखि बिहान ८ बजेसम्म पूर्णतः उडान बन्द गरेर नोटाम जारी भएकोले उडान विस्तारमा असर परिरहेको उनको भनाइ छ । 

 

निगमले हाल विभिन्न आठवटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ । यसबाहेक करिब डेढ दशकपछि आगामी असार १९ गते निगमले जापानको ओसाकामा उडान गर्ने तयारी गरेको छ । ओसाका उडानको तालिकासमेत निगमले सार्वजनिक गरिसकेको छ । निगमकाअनुसार त्यहाँ हप्तामा तीनवटा उडान हुनेछ । निगमले दिल्लीबाहेक भारतको मुम्बई र बेङ्गलोरमा उडान गरिरहेको छ ।

नेपाल वायुसेवा निगम काठमाडौं–दिल्ली उडान

विशेष